२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसहरू : विश्वव्यापी सर्वेक्षणको निष्कर्ष

एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसहरू : विश्वव्यापी सर्वेक्षणको निष्कर्ष

पेरिस- विश्वव्यापी सर्वेक्षणले देखाएको छ कि आजका श्रोताहरूका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जित सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबीचको भिन्नता छुट्याउन झण्डै असम्भव भइसकेको छ। फ्रान्सस्थित स्ट्रिमिङ प्लेटफर्म डिजरका लागि इप्सोसले सञ्चालन गरेको अध्ययनमा करिब नौ हजार सहभागीलाई एआईले पूर्ण रूपमा उत्पन्न गरेका क्लिपहरू र मानवद्वारा सिर्जित क्लिप सुन्न आग्रह गरिएको थियो। नतिजा अनुसार, ९७ प्रतिशतले फरक छुट्याउन सकेनन्।

सर्वेक्षण ब्राजिल, बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, जापान, नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिकामा सञ्चालन गरिएको थियो। सहभागीमध्ये आधाभन्दा बढीले फरक छुट्याउन नसक्दा आफूलाई ‘असहज’ महसुस गरेको बताएका थिए। करिब ५१ प्रतिशतले एआईका कारण स्ट्रिमिङ प्लेटफर्महरूमा ‘कम गुणस्तरको सङ्गीत’ बढ्ने विश्वास व्यक्त गरे भने झण्डै दुई तिहाइले मौलिक रचनात्मकता घट्ने जोखिम रहेको धारणा राखे।

डिजरका प्रमुख कार्यकारी अधिकृत एलेक्सिस ल्यान्टर्नियरले श्रोताहरूले एआई वा मानवद्वारा सिर्जित ट्र्याक छुट्याउन चाहने स्पष्ट सन्देश दिएको बताए। कम्पनीका अनुसार पछिल्ला महिनाहरूमा एआई–निर्मित सामग्रीको अपलोड दर तीव्र गतिमा बढिरहेको छ। सन् २०२५ को जनवरीमा दैनिक स्ट्रिम गरिएका १० मध्ये १ ट्र्याक मात्र एआई–निर्मित थियो, तर दश महिनापछि अनुपात बढेर ३ मध्ये १ अर्थात् दैनिक करिब ४० हजार एआई गीतसम्म पुगेको छ।

सर्वेक्षणमा सहभागी ८० प्रतिशतले एआई–निर्मित सङ्गीतलाई स्पष्ट रूपमा लेबल गर्नुपर्ने माग गरेका छन्। डिजर हालसम्मको एक मात्र प्रमुख प्लेटफर्म हो जसले आफ्ना प्रयोगकर्ताका लागि एआई सामग्रीलाई व्यवस्थित रूपमा चिन्ह लगाउँदै आएको छ।

यस विषयले थप चर्चा पाएको थियो जब द भेलभेट सनडाउन नामक ब्यान्डको गीत स्पोटिफाइमा भाइरल भयो। पछि मात्र त्यो गीत वास्तवमा एआई–निर्मित भएको पुष्टि भयो, जसले ३० लाखभन्दा बढी पटक स्ट्रिम भइसकेको छ। यस घटनापछि स्पोटिफाइले कलाकार र प्रकाशकलाई एआई प्रयोगबारे खुलासा गर्न प्रोत्साहित गर्ने ‘स्वैच्छिक उद्योग आचारसंहिता’मा हस्ताक्षर गर्न आग्रह गरेको छ।