२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

विश्वका सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिक समावेश

विश्वका सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिक समावेश

काठमाडौं – नेपालका वैज्ञानिकहरूको योगदान अन्तर्राष्ट्रिय स्तरमा उच्च मूल्याङ्कन भएको छ। अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एल्सेभियरसँग सहकार्यमा तयार पारेको वार्षिक ‘ग्लोबल र्याङ्किङ’मा यस वर्ष नेपालमा कार्यरत ३१ जना वैज्ञानिक समावेश भएका छन्।

नेपाल विज्ञान तथा प्रज्ञा प्रविधि प्रतिष्ठान (नाष्ट)का सचिव रवीन्द्र ढकालका अनुसार यो सूची वैज्ञानिकहरूको अनुसन्धान, प्रकाशन र ‘साइटेशन’का आधारमा तयार गरिएको हो। उनले भने, “सन् २०२५ मा विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष वैज्ञानिकहरूको सूचीमा नेपाली वैज्ञानिकहरू पर्नु गौरवको विषय हो।”

सूचीमा त्रिभुवन विश्वविद्यालयका सात वैज्ञानिक, नेपाल हेल्थ रिसर्च काउन्सिल, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का दुई–दुई जना वैज्ञानिक, साथै विभिन्न संस्थामा कार्यरत अन्य अनुसन्धानकर्ताहरू समावेश छन्।

त्रिभुवन विश्वविद्यालयका अजय भट्टराई, रमेशप्रसाद अधिकारी, भीष्म कार्की, नीरञ्जन पराजुली, रामप्रसाद शर्मा, गोविन्दप्रसाद ढुङ्गाना र त्रिवि शिक्षण अस्पतालका रञ्जितकुमार शाह सूचीमा छन्। बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्जीवकुमार शर्मा र सुमन रिजाल, इसिमोडका अरूणभक्त श्रेष्ठ र फिलिप वेस्टर पनि समावेश भएका छन्।

त्यसैगरी नाष्टका डा. नीरञ्जन कोइराला, काठमाडौँ इन्स्टिच्युट अफ कम्प्लेक्स फ्लोजका शिवप्रसाद पुडासैनी, नेपाल हेल्थ रिसर्च काउन्सिलका मेघनाथ धिमाल, ग्लोबल सेन्टर फर रिसर्च एण्ड डेभलपमेन्टका छविलाल रानाभाट, इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युटका सन्तोष नेपाल, गण्डकी विश्वविद्यालयका राजकुमार थापा, काठमाडौँ विश्वविद्यालयका सुदनकुमार झा लगायतका नाम सूचीमा छन्।

यसैगरी ग्रेड एकेडेमी प्रालिका रन्दिप रकुवाल, काठमाडौंँ क्यान्सर सेन्टरका सुनिलकुमार श्रेष्ठ, ग्रेट एकेडेमी प्रालिका गणेशकुमार अग्रवाल, बायोटेक्नोलोजी सोसाइटी अफ नेपालका विकास बराल, लुम्बिनी मेडिकल कलेजका आलोक आत्रेय, एनएनआरसिका उत्तम पौडेल, सिलिकन स्क्रिप्ट साइन्स प्रालिका पुकार खनाल, ग्लोबल हेल्थ रिसर्च एण्ड मेडिकल इन्टरभेन्सन फर डेभलपमेन्टका सुरज भट्टराई र कलेज अफ मेडिकल साइन्सेज नेपालका विपिन चौरसिया पनि समावेश भएका छन्।

नाष्टका सचिव ढकालले नेपालका वैज्ञानिकहरूको नाम विश्वस्तरीय सूचीमा समावेश हुनु देशको वैज्ञानिक क्षमता र अनुसन्धानको उत्कृष्ट मूल्याङ्कन भएको बताए।