२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

टोयोटाको अमेरिकामा १० अर्ब डलरको लगानी घोषणा

टोयोटाको अमेरिकामा १० अर्ब डलरको लगानी घोषणा

टोकियो- जापानको अटोमोबाइल कम्पनी टोयोटाले आगामी पाँच वर्षभित्र संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको अतिरिक्त लगानी गर्ने घोषणा गरेको छ। यससँगै अमेरिकामा टोयोटाको कुल लगानी करिब ६० अर्ब डलरमा पुग्नेछ।

यो घोषणा नर्थ क्यारोलिनामा लिथियम–आयन ब्याट्री उत्पादन गर्ने पहिलो अमेरिकी कारखानाको उद्घाटनसँगै गरिएको हो। उक्त कारखाना टोयोटाको अमेरिकामा एघारौँ उत्पादन केन्द्र बनेको छ, जसमा करिब १४ अर्ब डलर बराबरको पूँजी लगानी र पाँच हजारभन्दा बढी रोजगारी सिर्जना हुने कम्पनीले जनाएको छ।

गत अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टोकियो भ्रमणका क्रममा टोयोटाका प्रमुख कार्यकारी अधिकारी एकियो टोयोडासँगको भेटपछि लगानी योजनाको संकेत गरेका थिए। बिहीबार जारी विज्ञप्तिमा कम्पनीले सो योजनालाई औपचारिक रूपमा पुष्टि गरेको हो।

टोयोटाले गत वर्ष अमेरिकामा बिक्री गरेका सवारी साधनमध्ये करिब आधा विदेशबाट आयात गरिएका थिए। तीमध्ये अधिकांश क्यानाडा र मेक्सिकोमा बनेका गाडी थिए भने जापानमा उत्पादन गरिएका करिब दुई लाखभन्दा बढी गाडी पनि अमेरिकामा बिक्री भएका थिए।

यो लगानी योजनाबाट टोयोटाको अमेरिकी बजारमा उपस्थितिलाई अझ सुदृढ बनाउने र विद्युतीय तथा हाइब्रिड सवारी साधन उत्पादनमा कम्पनीको अग्रणी भूमिका विस्तार गर्ने अपेक्षा गरिएको छ।