जी–७ द्वारा युक्रेनमा युद्धविरामको आह्वान, सुडान संकटप्रति चेतावनी
- २७ कार्तिक २०८२
- १ मिनेटको पढाई
क्यानडा— क्यानडामा सम्पन्न जी–७ विदेश मन्त्रीहरूको बैठकले युक्रेनमा तत्काल युद्धविरामको आह्वान गर्दै सुडानमा बढ्दो हिंसाबारे गम्भीर चेतावनी दिएको छ।
संयुक्त विज्ञप्तिमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकाका शीर्ष कूटनीतिज्ञहरूले युक्रेनको क्षेत्रीय अखण्डताको समर्थन गर्दै युद्धविराम अपरिहार्य भएको उल्लेख गरेका छन्। बैठकमा रूसको आक्रमणविरुद्ध युक्रेनको रक्षा क्षमता बलियो बनाउन कोष बढाउने विकल्पहरूमा छलफल भएको थियो। आमन्त्रित युक्रेनका विदेश मन्त्री एन्ड्री सिबिहाले पुटिनको आक्रमणलाई नियन्त्रण गर्न सबैले सघाउनुपर्ने बताए।
यसअघि क्यानडाले युक्रेनमाथि साइबर आक्रमणमा संलग्न संस्थामाथि नयाँ प्रतिबन्ध घोषणा गरेको थियो भने बेलायतले ऊर्जा क्षेत्रको मर्मतका लागि १३ मिलियन पाउन्ड सहयोग गर्ने घोषणा गरेको छ।
सुडानबारे जी–७ को विज्ञप्तिले सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको द्वन्द्वले ठूलो मानवीय संकट निम्त्याएको उल्लेख गर्दै तत्काल स्थायी युद्धविराम र मानवीय सहायताको लागि सुरक्षित मार्ग सुनिश्चित गर्न आग्रह गरेको छ। अप्रिल २०२३ देखि सुरु भएको द्वन्द्वले दशौँ हजारको ज्यान लिएको र करिब एक करोड २० लाख मानिस विस्थापित भएको जनाइएको छ।