भविष्यको युद्ध अन्तरिक्षबाट सुरु हुन्छ : म्याक्रोँ
- २७ कार्तिक २०८२
- १ मिनेटको पढाई
पेरिस,- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अन्तरिक्षलाई अब युद्धको नयाँ मैदान भएको चेतावनी दिएका छन्। टुलुसस्थित नयाँ अन्तरिक्ष सैन्य कमान्ड सेन्टरमा बोल्दै उनले भने, “आज आकाशमा युद्ध भइरहेको छ, भोलि युद्ध अन्तरिक्षबाट सुरु हुनेछ।”
म्याक्रोँले रूसले युक्रेनमाथि आक्रमण गरेपछि अन्तरिक्षमा जासुसी गतिविधि, उपग्रह निगरानी, जीपीएस सिग्नल जाम र साइबर आक्रमण बढाएको आरोप लगाए। उनले अन्तरिक्षमा आणविक हतियारको सम्भावित प्रयोग विश्वका लागि विनाशकारी हुने चेतावनी पनि दिए।
फ्रान्सले सन् २०३० सम्म अन्तरिक्ष सुरक्षामा ४.२ अर्ब युरो खर्च गर्ने घोषणा गरेको छ। म्याक्रोँले युरोपेली अन्तरिक्ष उद्योगलाई प्रतिस्पर्धी बनाउन, पुनः प्रयोग गर्न सकिने कम लागतका प्रक्षेपक र उच्च–थ्रस्ट इन्जिन विकासलाई प्राथमिकता दिने बताए।
स्पेस एक्स र ब्लू ओरिजिनजस्ता अमेरिकी कम्पनीहरूमा निर्भर नहुने स्पष्ट गर्दै उनले फ्रान्स–जर्मनी सहकार्यमा ‘अरोर राडार’ प्रणालीमार्फत अन्तरिक्ष निगरानी बलियो बनाउने योजना प्रस्तुत गरे।
उनले जोड दिए, “अन्तरिक्ष अब अभयारण्य होइन, हामी तयार हुनुपर्छ। जमिन, हावा र समुद्रमा सफल सैन्य अभियानका लागि अन्तरिक्षमा प्रभुत्व आवश्यक छ।”