अमेरिका–स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो
- २९ कार्तिक २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड आयातमा लगाइएको ३९ प्रतिशत शुल्क घटाएर १५ प्रतिशतमा ल्याउने निर्णय गरेको छ। ह्वाइट हाउसले शुक्रबार जारी गरेको वक्तव्यअनुसार, महिनौँको वार्तापछि अमेरिका, स्विट्जरल्यान्ड र लिकटेन्स्टाइनबीच प्रारम्भिक व्यापारिक फ्रेमवर्क सम्झौता भएको हो।
सम्झौताअनुसार स्विस तथा लिकटेन्स्टाइनका कम्पनीहरूले करिब २०० अर्ब अमेरिकी डलर बराबरको लगानी अमेरिकामा गर्नेछन्, जसमा ६७ अर्ब डलर २०२६ भित्रै लगानी हुनेछ। फार्मास्युटिकल, मेसिनरी, मेडिकल उपकरण, निर्माण, उन्नत उत्पादन, सुन उत्पादन र ऊर्जा पूर्वाधारजस्ता क्षेत्रमा लगानी हुने बताइएको छ, जसले सबै ५० अमेरिकी राज्यमा हजारौँ रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।
१५ प्रतिशत शुल्क दर लागू भएपछि स्विस आयातलाई युरोपियन यूनियनले पाएको जस्तै समान व्यवहार मिल्नेछ। स्विट्जरल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा ३९ प्रतिशत शुल्क लगाएको निर्णयपछि ठूलो प्रभावमा परेको थियो।
स्विस भन्सार तथ्याङ्कअनुसार, अमेरिका सन् २०२१ देखि स्विट्जरल्यान्डको सबैभन्दा ठूलो निर्यात बजार रहँदै आएको छ। २०२४ मा मात्र अमेरिकाले स्विस कुल निर्यातको १८.६ प्रतिशत हिस्सा ओगटेको थियो। रसायन, औषधि र घडी उद्योगजस्ता प्रमुख क्षेत्रका लागि अमेरिका मुख्य बजार बनेको छ।