सियोल–अमेरिका पनडुब्बी सम्झौताप्रति उत्तर कोरियाको आपत्ति
- ०२ मंसिर २०८२
- १ मिनेटको पढाई
सियोल- दक्षिण कोरिया र अमेरिकाबीच आणविक–सञ्चालित पनडुब्बी निर्माणसम्बन्धी नयाँ सम्झौताप्रति उत्तर कोरियाले कडा आपत्ति जनाएको छ। प्योङयाङले यसलाई “खतरनाक सैन्य टकरावको संकेत” भन्दै क्षेत्रीय तथा विश्वव्यापी सुरक्षा सन्तुलनमा ‘आणविक डोमिनो’ प्रभाव सुरु हुने चेतावनी दिएको छ।
गत हप्ता राष्ट्रपति ली जे–म्युङले वासिङ्टनसँग लामो समयदेखि प्रतीक्षित सुरक्षा तथा व्यापार सम्झौतामा सहमति भएको घोषणा गरेका थिए। यसमा पनडुब्बी विकाससँगै युरेनियम संवर्धन र खर्चिएको इन्धन पुनःप्रशोधन अधिकार विस्तार गर्ने अमेरिकी समर्थन प्राप्त भएको सियोलले जनाएको छ।
उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसिएनए ले उक्त सम्झौताले कोरियाली प्रायद्वीप मात्र नभई एसिया–प्रशान्त क्षेत्रमा समेत अस्थिरता ल्याउने दाबी गरेको छ। प्योङयाङले दक्षिण कोरियाले पनडुब्बी सञ्चालनमा ल्याएपछि नयाँ शस्त्र दौड सुरु हुने चेतावनी दिएको छ।