६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध : अष्ट्रेलियाको ऐतिहासिक निर्णय
- ०८ मंसिर २०८२
- १ मिनेटको पढाई
अष्ट्रेलिया- अष्ट्रेलियाले विश्वमै पहिलोपटक १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने कानुन ल्याएको छ। यो कानुन २०२५ डिसेम्बर १० बाट लागू हुनेछ। फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, एक्स, युट्युब, रेडिट, थ्रेड्स, किक र ट्विच जस्ता प्लेटफर्ममा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले खाता राख्न वा सञ्चालन गर्न पाउने छैनन्।
मेटा कम्पनीले डिसेम्बर ४ देखि नै अष्ट्रेलियाली किशोरकिशोरीलाई सूचना पठाएर खाता बन्द गर्न थालेको छ। यसबाट करिब पाँच लाख बालबालिका प्रभावित हुने अनुमान गरिएको छ।
कानुनको उद्देश्य बालबालिकालाई स्क्रिनको लत र हानिकारक सामग्रीबाट जोगाउनु हो। कम्पनीहरूले उमेर प्रमाणीकरणका लागि बायोमेट्रिक प्रविधि, व्यवहार विश्लेषण वा सरकारी कागजात प्रयोग गर्नुपर्नेछ। नियम उल्लङ्घन गरेमा कम्पनीलाई करिब पाँच करोड अष्ट्रेलियाली डलरसम्म जरिवाना हुन सक्छ।
युट्युब किड्स, ह्वाट्सएप, डिस्कर्ड, रोब्लोक्स र म्यासेन्जर किड्स जस्ता प्लेटफर्म भने यस प्रतिबन्धमा पर्दैनन्। प्रधानमन्त्री एन्थोनी अल्बानीजले बालबालिकाले आफ्नो बाल्यकाल सुरक्षित रूपमा बिताउनुपर्ने बताएका छन्।
यद्यपि आलोचकहरूले यो कानुनले गोपनीयता जोखिम बढाउने र किशोरकिशोरीलाई अझ खतरनाक अनलाइन ठाउँतर्फ धकेल्ने चिन्ता व्यक्त गरेका छन्। तर पछिल्लो सर्वेक्षणमा ७७ प्रतिशतभन्दा बढी अष्ट्रेलियालीले यस कदमलाई समर्थन गरेका छन्। डेनमार्क, न्यूजील्याण्ड र केही युरोपेली देशहरूले पनि यस्तै कदम चाल्ने तयारी गरिरहेका छन्।
विश्लेषकहरूको भनाइमा, यो कानुनले विश्वव्यापी डिजिटल नीतिमा ठूलो परिवर्तन ल्याउने सम्भावना छ।