भारतीय वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
- ०८ मंसिर २०८२
- १ मिनेटको पढाई
भारत – भारतीय चलचित्र जगतका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। सोमबार दिउँसो मुम्बईस्थित आफ्नै निवासमा उनले अन्तिम सास फेरेका हुन्। यसअघि नोभेम्बर ११ मा उनको मृत्यु भएको भन्ने भ्रमपूर्ण समाचार बाहिर आएको थियो, तर पत्नी हेमा मालिनी र छोरी ईशा देओलले त्यसलाई असत्य ठहर गर्दै खण्डन गरेका थिए।
धर्मेन्द्रलाई नोभेम्बर १० मा ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। दुई दिनसम्म भेन्टिलेटरमा राखिएको उनी नोभेम्बर १२ मा डिस्चार्ज भएका थिए। तर स्वास्थ्य अवस्था कमजोर भइरहेकाले अन्ततः जीवनको अन्तिम क्षणसम्म संघर्ष गर्नुपर्यो।
उनको निधनको खबर सार्वजनिक भएपछि बलिउडका कलाकारहरू शोकाकुल बने। अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका कलाकारहरू अन्तिम श्रद्धाञ्जली दिन श्मशानघाट पुगे। करण जोहरले सामाजिक सञ्जालमार्फत धर्मेन्द्रको निधनको पुष्टि गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
धर्मेन्द्रलाई बलिउडमा “हे म्यान अफ बलिउड” भनेर चिनिन्थ्यो। उनले शोले, फूल और पत्थर, सीता और गीता, धरम वीर जस्ता चर्चित चलचित्रमा अभिनय गरेका थिए। डिसेम्बर ८ मा ९० वर्ष पूरा गर्ने तयारीमा रहेका धर्मेन्द्रको जीवन यात्रा अन्ततः ८९ वर्षमै थामियो।
उनको योगदानले भारतीय चलचित्र मात्र होइन, सम्पूर्ण दक्षिण एसियाली सांस्कृतिक जगतलाई गहिरो प्रभाव पारेको छ। धर्मेन्द्रको निधनसँगै बलिउडले एउटा युग गुमाएको अनुभूति गरेको छ।