शेख हसिना र ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर
- १५ मंसिर २०८२
- १ मिनेटको पढाई
ढाका – बङ्गलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनीकी छोरी, बेलायतकी सांसद ट्युलिप सिद्दिकलाई सरकारी जग्गा टाउनसिप परियोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा ढाका विशेष अदालतले क्रमशः पाँच वर्ष र दुई वर्षको जेल सजाय तोकेको छ।
विशेष न्यायाधीशले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गरेको र सिद्दिकले ठूलीआमालाई परियोजनामा जग्गा प्राप्त गर्न सहयोग गरेको ठहर गरेका छन्। यसै मुद्दामा हसिनाकी बहिनी शेख रेहानालाई सात वर्षको जेल सजाय सुनाइएको छ।
सिद्दिकले आरोपलाई राजनीतिक प्रतिशोध भन्दै अस्वीकार गरेकी थिइन्। ठूलीआमासँगको सम्बन्धकै कारण दबाब बढेपछि उनले यसअघि मन्त्री पदबाट राजीनामा दिएकी थिइन्।
पूर्व प्रधानमन्त्री हसिनालाई गत वर्ष जनविद्रोह दमनका क्रममा मानवता विरुद्धका अपराधका लागि मृत्युदण्ड सुनाइएको थियो र हाल भारतमा निर्वासनमा बसिरहेकी छिन्।