एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने युएनडिपीको चेतावनी
- १६ मंसिर २०८२
- १ मिनेटको पढाई
बैङ्कक – संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को नयाँ प्रतिवेदनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले विश्वका धनी र गरिबबीचको अन्तर अझै फराकिलो बनाउन सक्ने चेतावनी दिएको छ।
प्रतिवेदनअनुसार आधारभूत सेवा, शिक्षा, सीप र इन्टरनेट पहुँच अभाव भएका समुदायहरू एआई विकासबाट झन् पछाडि पर्न सक्नेछन्। युद्ध, द्वन्द्व र जलवायु प्रकोपका कारण विस्थापित मानिसहरू ‘डेटामा अदृश्य’ बन्ने जोखिम पनि औँल्याइएको छ।
यद्यपि, एआईले कृषि, स्वास्थ्य, मौसम पूर्वानुमान र विपद् व्यवस्थापनमा ठूलो सुधार ल्याउन सक्ने सम्भावना देखाइएको छ। गरिबी नाप्ने, स्वास्थ्य जोखिम विश्लेषण गर्ने र सार्वजनिक निर्णयलाई छिटो तथा पारदर्शी बनाउने क्षमताले समाजमा मूल्य थप्न सक्ने उल्लेख छ।
तर धनी मुलुकहरूमा समेत ऊर्जा–पानी बढी प्रयोग गर्ने डेटा सेन्टर, साइबर आक्रमण, गोपनीयता हनन, डिपफेक र गलत सूचना जस्ता चुनौती गहिरो बनेको छ। चीन, जापान, दक्षिण कोरिया र सिङ्गापुर एआई अवसर उपयोग गर्न सक्षम देखिएका छन् भने अफगानिस्तान, माल्दिभ्स र म्यान्मा पूर्वाधार अभावका कारण ठूलो चुनौतीमा छन्।
युएनडिपीले एआईलाई निष्पक्ष, पारदर्शी र जवाफदेही बनाउन प्रभावकारी नियम आवश्यक रहेको बताउँदै सरकारहरूलाई डिजिटल पूर्वाधार, शिक्षा, सीप विकास र सामाजिक सुरक्षामा लगानी बढाउन आग्रह गरेको छ।