पर्यटन प्रवर्द्धनका लागि पर्यटन बोर्ड–नेपाल एयरलाइन्स समझदारी
- १६ मंसिर २०८२
- १ मिनेटको पढाई
काठमाडौं – नेपाल पर्यटन बोर्ड (एनटिबी) र नेपाल वायुसेवा निगम (एनएसी)बीच अन्तरराष्ट्रिय बजारमा नेपालका पर्यटन उत्पादन संयुक्त रूपमा प्रवर्द्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
समझदारीअनुसार दुवै संस्थाले विश्वभरका पर्यटन मेला, डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचारप्रसार, मेगा इभेन्ट तथा ब्रान्डिङका गतिविधि सहकार्यमा सञ्चालन गर्नेछन्। बोर्डले प्रमुख प्रवर्द्धनात्मक कार्यक्रममा नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन्स’का रूपमा निःशुल्क सहभागिता दिनेछ भने निगमले आफ्ना उडान गन्तव्यहरूमा १०० किलोग्रामसम्मका प्रवर्द्धन सामग्री निःशुल्क लैजान दिने व्यवस्था मिलाएको छ।
दुवै संस्थाले प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर्स र सेलिब्रिटी सहभागी हुने फ्याम ट्रिपहरूमा सामूहिक रूपमा काम गर्नेछन्। साथै, डिजिटल विज्ञापन, प्रमोशन भिडियो, संयुक्त ब्रान्डिङ, वेबसाइट लिंक–सपोर्ट, संयुक्त होर्डिङ बोर्ड, ब्रोसर, गाइडबुक, पोस्टर तथा सांस्कृतिक विविधता झल्किने सामग्री निर्माणमा पनि सहकार्य गर्ने सहमति भएको छ।
नेपालभित्र विदेशी कलाकार, फिल्म उत्पादक, खेलाडी तथा सेलिब्रिटी सहभागी हुने मेगा–इभेन्टमा निगमले सहुलियत टिकट उपलब्ध गराउनेछ। हरेक छ महिनामा संयुक्त प्रतिवेदन तयार गरी कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरिनेछ।