दक्षिण कोरियामा लगातार मूल्यवृद्धि, उपभोक्ता दबाब बढ्दै
- १६ मंसिर २०८२
- १ मिनेटको पढाई
सिओल – दक्षिण कोरियामा उपभोक्ता मूल्य वृद्धि दर नोभेम्बर महिनामा २.४ प्रतिशत पुगेको छ, जसले लगातार तेस्रो महिनासम्म केन्द्रीय बैंकले निर्धारण गरेको दुई प्रतिशत लक्ष्यभन्दा माथिको स्तर कायम गरेको छ। तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार स्थानीय मुद्रा अमेरिकी डलरसमक्ष कमजोर बन्दै गएपछि मूल्यवृद्धिमा थप चाप परेको छ।
अघिल्लो वर्षको सोही महिनाको तुलनामा उपभोक्ता मूल्य सूचकाङ्क २.४ प्रतिशतले बढेको छ। यसअघि जुलाईमा २.१ प्रतिशत र अगस्तमा २.४ प्रतिशत वृद्धि दर्ता भएको थियो। विनिमय दर पनि कमजोर हुँदै नोभेम्बर २१ मा एक डलर बराबर १,४७६ वोनसम्म पुगेको छ, जुन अप्रिल ९ पछि अहिलेसम्मकै उच्च स्तर हो।
तेलजन्य वस्तुहरूको मूल्य ५.९ प्रतिशतले बढेको छ। पेट्रोल ५.३ प्रतिशत र डिजेल १०.४ प्रतिशतले महँगिएको छ। प्रशोधित खाद्यवस्तु ३.३ प्रतिशतले बढ्दा समग्र मूल्यवृद्धिमा ०.२८ प्रतिशत अंकले थप प्रभाव परेको छ।
कृषि, पशुपालन तथा मत्स्यजन्य वस्तुहरूको मूल्य वृद्धि दर ५.६ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनाको ३.१ प्रतिशतभन्दा उल्लेख्य रूपमा उच्च हो। दैनिक उपभोग्य सामग्री मूल्य सूचकाङ्क नोभेम्बरमा २.९ प्रतिशतले बढेको छ भने माछा, फलफूल तथा तरकारीजस्ता ताजा खाद्यवस्तुहरूको मूल्य ४.१ प्रतिशतले बढेको देखिएको छ।