अमेरिकाको नयाँ राडारले भेनेजुएला निगरानी
- १८ मंसिर २०८२
- १ मिनेटको पढाई
पोर्ट अफ स्पेन- ट्रिनिडाड एन्ड टोबागोमा अमेरिकाले जडान गरेको नयाँ राडार प्रणालीले लागुऔषध तस्करी नियन्त्रणसँगै भेनेजुएलाको प्रतिबन्धित कच्चा तेलको अवैध आवागमन रोक्ने उद्देश्य राखेको प्रधानमन्त्री कमला पर्साद–बिसेसरले पुष्टि गरेका छन्।
हालका महिनाहरूमा वासिङ्टनले ट्रिनिडाड एन्ड टोबागोसँग सैन्य सहकार्य तीव्र बनाएको छ। अमेरिकी मिसाइल विध्वंसक सहभागी रहेको अभ्यासलाई काराकासले ‘उक्साहटमूलक’ भन्दै कडा आपत्ति जनाएको छ। भेनेजुएलाले यसलाई मदुरो प्रशासनलाई अपदस्थ गर्ने अमेरिकी प्रयासको हिस्सा भएको आरोप लगाएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकाले भेनेजुएलामाथि दबाब अझ बढाएको छ। ट्रम्प प्रशासनले भेनेजुएलालाई लागुऔषध गिरोह संलग्न राज्यका रूपमा चित्रित गर्दै राजनीतिक वैधतालाई अस्वीकार गर्ने नीति अघि बढाएको छ।
पर्साद–बिसेसरले नयाँ राडारले लागुऔषध, हतियार, गोलाबारुद, अवैध आप्रवासी तथा प्रतिबन्ध छल्ने उद्देश्यले भइरहेको तेल तस्करी गतिविधि पहिचान गर्न मद्दत गर्ने बताए। उनले यसले ट्रिनिडाड एन्ड टोबागोको हवाई तथा समुद्री निगरानी क्षमता उल्लेखनीय रूपमा बढाएको दाबी गरे।
तर काराकासले प्रधानमन्त्रीलाई अमेरिकाको भेनेजुएला विरोधी योजनामा सहभागी भएको आरोप लगाउँदै आलोचना गरेको छ। प्रधानमन्त्रीले भने अमेरिकी सैन्य हस्तक्षेपका लागि आफ्नो देशको भूभाग प्रयोग भएको आरोप अस्वीकार गरे।
यसैबीच, वासिङ्टनले गत अगस्टदेखि क्यारिबियन क्षेत्रमा विश्वकै ठूलो विमानवाहकसहित युद्धपोतहरूको बेडा तैनाथ गरेको छ। लागुऔषधविरुद्धको अभियान शीर्षकमा भएका कम्तीमा २२ वटा समुद्री आक्रमणमा ८३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।