एआई नियमन रोक्ने आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा
- २३ मंसिर २०८२
- १ मिनेटको पढाई
वासिङ्टन- राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योगलाई राज्य–स्तरीय कानूनमार्फत नियमन गर्न नदिने घोषणा गरेका छन्। उनले भनेका छन्, “यदि हामी एआईमा नेतृत्व गर्न चाहन्छौँ भने केवल एकै नियमन पुस्तिका हुनुपर्छ।”
ट्रम्पले यसै हप्ता कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताए। उनका अनुसार एआईले अर्थतन्त्रदेखि सैन्य प्रविधिसम्म रूपान्तरण गर्ने भएकाले अमेरिकालाई विश्व प्रतिस्पर्धामा अग्रस्थानमा राख्न केन्द्रीकृत नियमन आवश्यक छ।
कङ्ग्रेसले दुई पटक राज्य–स्तरीय एआई कानूनलाई अनुमति दिन अस्वीकार गरेपछि ट्रम्पको घोषणा आएको हो। आलोचकहरूले भने प्रविधिको सम्भावित आर्थिक तथा सामाजिक जोखिमबारे सचेत रहनुपर्ने बताए।
उद्योग क्षेत्रका अनुसार हाल राज्य–स्तरीय विधायिकामार्फत एक हजारभन्दा बढी एआईसम्बन्धी विधेयक अघि बढिरहेका छन्। गुगलका प्रमुख सुन्दर पिचाईले भने, “विविध नियमहरूको सामना गर्दै चीनसँग कसरी प्रतिस्पर्धा गर्ने?” भन्दै चिन्ता व्यक्त गरे।