२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

चीनलाई एनभिडियाको एच–२०० चिप्स निर्यात गर्न अमेरिकी अनुमति

चीनलाई एनभिडियाको एच–२०० चिप्स निर्यात गर्न अमेरिकी अनुमति

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई जानकारी दिँदै एनभिडियालाई चीनका स्वीकृत ग्राहकहरूलाई एच–२०० चिप्स पठाउन अनुमति दिने घोषणा गरे।

एनभिडियाको एच–२०० चिप्स पछिल्लो ब्ल्याकवेल चिपभन्दा एक पुस्ता पुरानो भए पनि यस कदमले कम्पनीलाई अर्बौँ डलरको कारोबार दिलाउन सक्ने अनुमान गरिएको छ। एनभिडियाले यस वर्ष र आगामी वर्षका लागि ५०० अर्ब डलरभन्दा बढीको अर्डर भइसकेको जनाएको छ।

ट्रम्पले इन्टेल, एएमडी तथा अन्य अमेरिकी कम्पनीहरूलाई पनि चीनमा समान चिप्स बिक्री गर्न अनुमति दिने बताए। उनले भने, “वाणिज्य विभागले विवरण अन्तिम रूप दिइरहेको छ।” यससँगै अमेरिकी कम्पनीहरूको चीनमा एआई चिप्स बिक्रीमा लागेको प्रतिबन्ध अन्त्य हुने देखिएको छ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मा लेख्दै सरकारलाई बिक्रीको २५% हिस्सा लिने व्यवस्था गरिएको बताए, जुन पहिले १५% थियो। उनले थपे, “राष्ट्रपति सीले सकारात्मक प्रतिक्रिया दिनुभएको छ।”

एनभिडियाले निर्णयलाई स्वागत गर्दै अमेरिकी रोजगारी र उत्पादनलाई सहयोग गर्ने बताए। एएमडीले पनि ट्रम्पको नेतृत्वको प्रशंसा गर्दै यसले अमेरिकी प्रतिस्पर्धात्मकता बलियो बनाउने टिप्पणी गर्‍यो।

तर अमेरिकी कङ्ग्रेसका द्विदलीय सांसदहरूले चीनलाई एआई चिप्स बिक्री गर्न दिने विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। रिपब्लिकन सिनेटर पिट रिकिट्सले “बेइजिङलाई यी चिप्सको पहुँच दिनु राष्ट्रिय सुरक्षाका लागि खतरनाक” भने।

यसबीच, चीनले अमेरिकाबाट सोयाबिन खरिद बढाएको र दुर्लभ खनिज निर्यातलाई अनुमति दिएको छ। ट्रम्पले किसानहरूसँगको कार्यक्रममा चीनले अझ बढी सोयाबिन खरिद गर्न सक्ने विश्वास व्यक्त गरे।

ट्रम्पको घोषणापछि एनभिडियाको शेयर मूल्य आफ्टर–आवर्स ट्रेडिङमा करिब ३% बढेको छ।