सन् २०२५ दोस्रो सबैभन्दा तातो वर्ष बन्ने सम्भावना : अध्ययन
- २३ मंसिर २०८२
- १ मिनेटको पढाई
पेरिस- युरोपको कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस ले सन् २०२५ लाई रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने सम्भावना रहेको जनाएको छ। यस वर्षको तापक्रम सन् २०२३ सँग बराबरी हुने देखिएको छ भने सन् २०२४ रेकर्डमा पहिलो पटक सबैभन्दा तातो वर्ष बनेको थियो।
अनुगमन अनुसार जनवरीदेखि नोभेम्बरसम्म औसत तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा १.४८ डिग्री सेल्सियसले बढेको छ। यसले पेरिस सम्झौतामा सुरक्षित मानिएको १.५ डिग्रीको सीमा नाघ्ने संकेत गरेको छ।
कोपर्निकसकी प्रमुख सामन्था बर्गसले भने, “सन् २०२३÷२५ को तीन वर्षे औसत तापक्रम पहिलो पटक १.५ डिग्रीभन्दा माथि पुग्ने बाटोमा छ। यसले जलवायु परिवर्तनको तीव्र गतिलाई देखाउँछ।” उनले हरितगृह ग्यास उत्सर्जनलाई द्रुत रूपमा घटाउनुपर्ने आवश्यकता औंल्याइन्।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेर्रेसले पनि विश्वले आगामी वर्षहरूमा ग्लोबल वार्मिङलाई १.५ डिग्रीभन्दा तल राख्न नसक्ने चेतावनी दिएका थिए।
गत नोभेम्बर औद्योगिक पूर्वको स्तरभन्दा १.५४ डिग्री सेल्सियस बढी रहेर रेकर्डमा तेस्रो सबैभन्दा तातो महिना बनेको थियो। वैज्ञानिकहरूले यसले आँधी, बाढी जस्ता विपद्हरूलाई अझ तीव्र र बारम्बार बनाइरहेको चेतावनी दिएका छन्।
दक्षिणपूर्वी एसियामा हालै उष्णकटिबन्धीय चक्रवात र बाढीले ठूलो जनधनको क्षति गरेको छ। फिलिपिन्समा मात्र करिब २६० जनाको मृत्यु भएको छ।
औद्योगिक क्रान्तिदेखि जीवाश्म इन्धनको अत्यधिक प्रयोगले तापक्रम बढाएको बताइएको छ। सन् २०२३ मा दुबईमा भएको कोप–२८ सम्मेलनमा जीवाश्म इन्धनबाट रूपान्तरण गर्ने सहमति भए पनि पछिल्ला सम्मेलनहरूमा स्पष्ट प्रतिबद्धता कमजोर भएको देखिएको छ।