उल्लासका साथ सन् २०२६ को स्वागत: कतै खुसीयाली, कतै युद्धको छाँया
- १७ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – उतारचढावले भरिएको सन् २०२५ लाई बिदाइ गर्दै विश्वभरका मानिसले बिहीबार भव्य आतशबाजीका साथ सन् २०२६ लाई स्वागत गरेका छन्। बितेको वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति, युक्रेन युद्ध र बढ्दो तापक्रमका कारण चर्चामा रह्यो।
गाजामा युद्धविराम भए पनि सुडानमा हिंसा रोकिएन। यो वर्ष विश्वले नयाँ अमेरिकी पोप पायो भने प्रसिद्ध प्राणीशास्त्री जेन गुडअललाई गुमायो। अस्ट्रेलियाको सिड्नीमा भने रमाइलो गर्नुअघि गोलीबारीमा ज्यान गुमाएकाहरूको सम्झनामा मौन धारण गरियो। सिड्नी हार्बर ब्रिजलाई शान्तिको प्रतीक मान्दै सेतो बत्तीले सजाइएको थियो। हङकङमा भने आगलागीमा ज्यान गुमाएकाहरूको सम्मानमा मुख्य कार्यक्रम रद्द गरियो।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने सम्झौताको नजिक पुगेको बताए। उता रुसी राष्ट्रपति पुटिनले भने आफ्नो देशले विजय पाउने विश्वास व्यक्त गरे। युद्धका बीच पनि युक्रेनी सहर विश्गोरोडकी डारिया लुस्चिकले आफ्नो कामलाई निरन्तरता दिइन्। उनले जस्तोसुकै अवस्थामा पनि ग्राहकहरू आउन नछोडेको सुनाइन्।
मनोरञ्जनको क्षेत्रमा पप स्टार टेलर स्विफ्टले प्रेमी ट्राभिस केल्ससँग इन्गेजमेन्ट गरिन् भने चर्चित ब्यान्ड बिटिएसले फेरि पुनरागमन गर्यो। राजनीतिमा ट्रम्पले कर वृद्धि गरेर हलचल मच्चाए। उनकै दबाबमा इजरायल र हमासबीच युद्धविराम सम्भव भएको थियो। सिरियाका जनता पनि बशर अल–असदको सत्ता ढलेपछि निकै उत्साहित देखिए। त्यहाँकी सहर अल–सइदले यो वर्ष राम्रो हुने आशा व्यक्त गरिन्।
दुबईको बुर्ज खलिफादेखि रियोको समुद्री तटसम्म लाखौँ मानिस उत्सवमा रमाए। न्युयोर्कमा जोहरान ममदानीले मुस्लिम मेयरका रूपमा शपथ लिए। आउँदो वर्ष खेलकुद र प्रविधिका लागि निकै महत्त्वपूर्ण हुने देखिन्छ। फेब्रुअरीमा इटालीमा शीतकालीन ओलम्पिक र बीच तिर अमेरिका, मेक्सिको र क्यानाडामा फुटबल विश्वकप हुँदै छ। नासाले पनि चन्द्रमामा जाने तयारी गरिरहेको बताएको छ।