२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

नासाले गर्‍यो आफ्नो सबैभन्दा ठुलो पुस्तकालय बन्द: वैज्ञानिकहरू चिन्तित, ऐतिहासिक दस्ताबेज हराउने डर

नासाले गर्‍यो आफ्नो सबैभन्दा ठुलो पुस्तकालय बन्द: वैज्ञानिकहरू चिन्तित, ऐतिहासिक दस्ताबेज हराउने डर

मेरिल्याण्ड – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मेरिल्याण्डस्थित गोडार्ड स्पेस फ्लाइट सेन्टरमा रहेको आफ्नो सबैभन्दा ठुलो अनुसन्धान पुस्तकालय स्थायी रूपमा बन्द गरेको छ। शुक्रबार (जनवरी २, २०२६) देखि लागू हुने गरी यो ऐतिहासिक पुस्तकालयका सबै सेवाहरू ठप्प पारिएका हुन्।

विगत ६ दशकदेखि सञ्चालनमा रहेको यो पुस्तकालयमा १ लाखभन्दा बढी पुस्तकहरू र महत्त्वपूर्ण वैज्ञानिक जर्नलहरू थिए। हबल टेलिस्कोप र जेम्स वेब टेलिस्कोप जस्ता ऐतिहासिक मिसनहरूका तथ्याङ्क र दस्ताबेजहरू सङ्कलन गरिएको यो ठाउँलाई नासाको ‘ज्ञानको भण्डार’ मानिन्थ्यो।

नासाका प्रशासक जारेड आइज्याकम्यानले यो कदम सन् २०२२ मै तय गरिएको ‘सुविधा सुदृढीकरण योजना’ को हिस्सा भएको बताएका छन्। उनका अनुसार अब नासाले डिजिटल सेवामा जोड दिनेछ र वैज्ञानिकहरूले ‘आस्क अ लाइब्रेरियन’ जस्ता अनलाइन माध्यमबाट आवश्यक जानकारी लिन सक्नेछन्।

यद्यपि, नासाका वरिष्ठ वैज्ञानिकहरूले भने यस निर्णयप्रति कडा आपत्ति जनाएका छन्। ३२ वर्षदेखि नासामा कार्यरत डेभिड विलियम्सले भने, “पुस्तकालय बिना एउटा उच्च स्तरीय अनुसन्धान केन्द्रले कसरी काम गर्छ होला भन्ने सोच्न पनि गाह्रो छ। यहाँ रहेका धेरै जानकारीहरू अन्त कतै पनि पाइँदैनन्।”

आलोचकहरूका अनुसार पुस्तकालयमा रहेका ८५ देखि ९० प्रतिशत सामग्रीहरू अन्यत्र स्थानान्तरण वा नष्ट गरिने जोखिम छ। कतिपय पुराना दस्ताबेजहरू अझै डिजिटल नभएकाले ती सधैँका लागि हराउन सक्ने डर वैज्ञानिकहरूले व्यक्त गरेका छन्।