२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

डेल्सी रोड्रिगेज भेनेजुएलाको अन्तरिम राष्ट्रपति नियुक्त

डेल्सी रोड्रिगेज भेनेजुएलाको अन्तरिम राष्ट्रपति नियुक्त

काराकास – भेनेजुएलाको सर्वोच्च अदालतले एक ऐतिहासिक फैसला गर्दै उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई देशको अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न आदेश दिएको छ। अमेरिकी सैन्य कारबाहीका क्रममा राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी न्युयोर्क लगिएपछि उत्पन्न राजनीतिक शून्यतालाई चिर्न अदालतले यो कदम चालेको हो।

सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रपतिको अनुपस्थितिमा राज्यसत्ता र सरकारी संयन्त्र अवरुद्ध हुन नदिन उपराष्ट्रपतिलाई यो जिम्मेवारी दिनु आवश्यक रहेको ठहर गरेको छ। अदालतको आदेशमा भनिएको छ कि प्रशासनिक निरन्तरता कायम राख्न र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न अन्तरिम नेतृत्व अपरिहार्य हुन्छ। यद्यपि, अदालतले मादुरोलाई स्थायी रूपमा पदमुक्त भने गरेको छैन, जसका कारण ३० दिनभित्र निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता हाललाई टरेको छ।

अन्तरिम राष्ट्रपति नियुक्त भएकी ५६ वर्षीया डेल्सी रोड्रिगेज मादुरो प्रशासनकी एक प्रभावशाली र विश्वासपात्र नेतृ हुन्। उनी यसअघि विदेशमन्त्री र तेल मन्त्री जस्ता महत्त्वपूर्ण पदमा रहिसकेकी छिन्। उनले एक टेलिभिजन सम्बोधनका क्रममा मादुरो नै देशको वैध राष्ट्रपति रहेको अडान दोहोर्‍याउँदै अमेरिकी आक्रमणको कडा निन्दा गरेकी छिन्।

रोचक कुरा त के छ भने, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रोड्रिगेजको नियुक्तिलाई समर्थन गर्ने सङ्केत दिएका छन्। उनले रोड्रिगेजसँग अमेरिकी विदेशमन्त्री मार्को रुबियोको कुराकानी भएको र उनले सहयोग गर्ने प्रतिबद्धता जनाएको दाबी गरेका छन्। यसले भेनेजुएलाको सत्ता समीकरणमा अब कस्तो नयाँ मोड आउँछ भन्ने कौतूहल बढाएको छ।

यसैबीच, विपक्षी नेतृ मारिया कोरिना म्याछाडोले भने देशमा “स्वतन्त्रताको समय” आएको भन्दै एडमन्डो गोन्जालेजलाई राष्ट्रपतिका रूपमा स्वीकार गर्नुपर्ने माग गरेकी छिन्। तर ट्रम्पले म्याछाडोलाई खासै महत्त्व नदिएको र रोड्रिगेजसँगै मिलेर काम गर्न सक्ने सङ्केत दिएपछि विपक्षी खेमामा अन्योल छाएको छ।