एशियामै पहिलो पटक थाइल्यान्डमा हुँदैछ विश्वप्रसिद्ध ‘टुमरोल्यान्ड’ संगीत महोत्सव
- २२ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- विश्वकै चर्चित इलेक्ट्रोनिक डान्स म्युजिक महोत्सव ‘टुमरोल्यान्ड’ ले पहिलो पटक एशियामा आफ्नो पूर्ण संस्करण आयोजना गर्ने भएको छ। आउँदो डिसेम्बर ११ देखि १३ सम्म थाइल्यान्डको पर्यटकीय सहर पट्टायामा यो भव्य सांगीतिक उत्सव आयोजना हुने मङ्गलबार औपचारिक घोषणा गरिएको हो। संगीत, नवीनता र अनुभवमा आधारित पर्यटनमा थाइल्यान्डको बढ्दो प्रभावलाई मध्यनजर गर्दै आयोजकले यस देशलाई छानेका हुन्। बेल्जियमका दाजुभाइ मनु र मिचिएल बियर्सले २० वर्षअघि सुरु गरेको यो महोत्सव अहिले विश्वभरका संगीत प्रेमीहरूको पहिलो रोजाइमा पर्ने गर्दछ।
थाई समुद्री किनारमा हुने यस तीन दिने महोत्सवमा दैनिक ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। टिकटका लागि पूर्व-दर्ता जनवरी ८ बाट सुरु हुनेछ, जहाँ तीनै दिनको प्याकेजलाई १२,५०० थाई भाट (करिब ४०० डलर) र एक दिनको प्रवेश शुल्क ५,१०० भाट तोकिएको छ। महोत्सवको थिम र कलाकारहरूको नामावली भने छिट्टै सार्वजनिक गरिने आयोजकले बताएका छन्। टुमरोल्यान्डले थाइल्यान्डसँग पाँच वर्षसम्म यो महोत्सव आयोजना गर्ने सम्झौता गरेको छ, जसबाट थाइल्यान्डले २१ अर्ब भाट बराबरको आम्दानी हुने अपेक्षा राखेको छ।
टुमरोल्यान्डका प्रमुख कार्यकारी अधिकृत ब्रुनो भानवेल्सेनायर्सले एशियामा यसको विस्तारलाई एक ऐतिहासिक कोशिसको रूपमा व्याख्या गरेका छन्। पछिल्ला वर्षहरूमा थाइल्यान्ड अन्तर्राष्ट्रिय संगीत महोत्सवहरूको प्रमुख केन्द्र बन्दै गएको छ। यसअघि त्यहाँ ‘इलेक्ट्रिक डेजी कार्निवल’ र ‘क्रिमफिल्ड्स’ जस्ता ठुला कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यस नयाँ महोत्सवको आगमनसँगै थाइल्यान्डले विश्व सांगीतिक र पर्यटकीय क्षेत्रमा आफ्नो पकड अझ बलियो बनाउने देखिएको छ।