पाटागोनियाका जङ्गलमा भीषण डढेलो: बस्ती उच्च जोखिममा
- २५ पुस २०८२
- १ मिनेटको पढाई
अर्जेन्टिना- अर्जेन्टिनाको दक्षिणमा पर्ने पाटागोनिया क्षेत्रस्थित एल होयोका जङ्गलहरूमा लागेको भीषण डढेलोले त्यहाँको प्राकृतिक सम्पदा र मानव बस्तीलाई गम्भीर जोखिममा पारेको छ। बिहीबारदेखि सुरु भएको यो आगलागीले तीव्र हावा र अत्यधिक गर्मीका कारण भयावह रूप लिएपछि अग्निनियन्त्रकहरूले ज्यानको बाजी थापेर आगो निभाउने प्रयास गरिरहेका छन्। धुवाँको मुस्लोले आकाशै ढाकिएका सडकहरूमा सुरक्षाकर्मी र उद्धारकर्मीहरू परिचालन गरिएका छन्, जहाँ उनीहरू दनदनी बलिरहेको आगोको लप्कासँग प्रत्यक्ष जुधिरहेका छन्।
आगो नियन्त्रणका लागि जमिनबाट मात्र नभई आकाशबाट समेत पानी खसालेर निभाउने प्रयास भइरहेको छ। विशेष विमानहरूले जङ्गलका अग्ला भागहरूमा पानीको फोहोरा खसाल्दै आगोलाई बस्तीतिर फैलिनबाट रोक्न कडा मिहिनेत गरिरहेका छन्। तर, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण उद्धार कार्यमा निकै चुनौती थपिएको छ। स्थानीय प्रशासनले एल होयो आसपासका क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ भने डढेलोले कयौँ हेक्टर वन क्षेत्र खरानी भइसकेको छ। यो वातावरणीय संकटले पाटागोनियाको जैविक विविधतामा अपूरणीय क्षति पुग्ने चिन्ता व्यक्त गरिएको छ।