पत्रकार महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्व सर्वसम्मत: सन्तोष खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
- २७ पुस २०८२
- १ मिनेटको पढाई
सियोल, दक्षिण कोरिया – नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आइतबार सियोलमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनको बन्दसत्रले सन्तोष खड्कालाई अध्यक्षमा निर्विरोध निर्वाचित गर्दै नयाँ कार्यसमिति घोषणा गरेको हो। शाखाका कुल २७ सदस्यमध्ये १९ जनाको प्रत्यक्ष सहभागिता रहेको उक्त भेलाले महिला उपाध्यक्षमा सबिना कार्की, खुला उपाध्यक्षमा कोकिल पौडेल, सचिवमा बासुदेव भट्ट र समावेशी सहसचिवमा राजकुमार तामाङलाई चयन गरेको छ। यस्तै, कोषाध्यक्षमा प्रमिला बुढाथोकी तथा सदस्यहरूमा सुमन कार्की र शिवबहादुर कार्की चयन भएका छन् भने केन्द्रीय परिषद् सदस्यको जिम्मेवारी केशव पोख्रेलले पाएका छन्।

अधिवेशनको उद्घाटन सत्रमा नेपालबाट भर्चुअल माध्यममार्फत जोडिँदै केन्द्रीय अध्यक्ष निर्मला शर्मा र वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए। कार्यक्रममा जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले केन्द्रीय प्रतिनिधिको रूपमा सहभागिता जनाएका थिए भने कोरियामा क्रियाशील विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले पनि आफ्नो ऐक्यबद्धता प्रकट गरे। सोही अवसरमा पत्रकारिताको माध्यमबाट समुदायको हकहितमा लामो समयदेखि योगदान पुर्याउँदै आएका संस्थापक सदस्य एवं केन्द्रीय पार्षद डा. किशोर कोइराला र विक्रम बैज्यु लगायतका पत्रकारहरूलाई विशेष सम्मान समेत गरिएको थियो। यो अधिवेशनले कोरियामा रहेका नेपाली पत्रकारहरूबीचको एकतालाई अझ मजबुत बनाएको छ।