विपक्षी नेत्री मचाडोले आफ्नो ‘नोबेल पदक’ ट्रम्पलाई दिइन्: नोबेल समितिको आपत्ति
- ०३ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले बिहीबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो पटक प्रत्यक्ष भेट गरिन्। सोही अवसरमा उनले आफ्नो सन् २०२४ को ‘नोबेल शान्ति पुरस्कार’ को पदक ट्रम्पलाई उपहारस्वरूप प्रदान गरिन्। मचाडोले ट्रम्पलाई भेनेजुएलाको स्वतन्त्रताका लागि लडेको भन्दै यो सम्मान दिएको बताइन्। ट्रम्पले पनि यसलाई “आपसी सम्मानको अद्भुत संकेत” भन्दै सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्।
यद्यपि, नोबेल समितिले भने यो पदक हस्तान्तरण गर्न नमिल्ने स्पष्ट पारेको छ। समितिले एक पटक घोषणा भइसकेको पुरस्कार रद्द गर्न, बाँड्न वा अरूलाई दिन नसकिने र मचाडो नै आधिकारिक विजेता रहने जनाएको छ। ट्रम्पले मचाडोलाई “साहसी महिला” भने पनि भेनेजुएलाको सत्ता सम्हाल्न भने उनलाई समर्थन गरेका छैनन्। ट्रम्पले अहिले भेनेजुएलाका पूर्व राष्ट्रपति मदुरोकी उपराष्ट्रपति डेल्सी रोड्रिगेससँग मिलेर काम गरिरहेका छन्, जसलाई मचाडोले मन पराएकी छैनन्। मदुरो पक्राउ परेपछि ट्रम्पले भेनेजुएलाको तेल व्यापारमा हात हालिसकेका छन्।