२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

टिकटकको अमेरिकी व्यवसाय अब छुट्टै कम्पनी: प्रतिबन्ध टर्‍यो, ट्रम्पका सहयोगीहरूको लगानी

टिकटकको अमेरिकी व्यवसाय अब छुट्टै कम्पनी: प्रतिबन्ध टर्‍यो, ट्रम्पका सहयोगीहरूको लगानी

न्युयोर्क- लामो समयको विवाद र प्रतिबन्धको त्रासपछि अन्ततः टिकटकले आफ्नो अमेरिकी व्यवसायलाई विश्वव्यापी कम्पनीबाट अलग गर्ने सम्झौतालाई अन्तिम रूप दिएको छ। बिहीबार भएको यो सम्झौतासँगै अमेरिकामा टिकटक बन्द हुने खतरा टरेको छ। चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै बेच्न वा प्रतिबन्ध भोग्न अमेरिकी सरकारले दबाब दिँदै आएको थियो।

यो नयाँ सम्झौता अनुसार अब ‘टिकटक यूएसडीएस जोइन्ट भेन्चर’ (TikTok USDS Joint Venture LLC) नामक नयाँ कम्पनी खडा गरिएको छ, जसले अमेरिकी प्रयोगकर्ताको डेटा र एल्गोरिदमको सुरक्षा गर्नेछ। यो कम्पनीमा ओरेकल, सिल्भर लेक र एमजीएक्स जस्ता लगानीकर्ताहरूको ६० प्रतिशतभन्दा बढी हिस्सा रहनेछ भने बाइटडान्ससँग १९.९ प्रतिशत मात्र सेयर रहनेछ। ओरेकलका ल्यारी एलिसन र अन्य लगानीकर्ताहरू राष्ट्रपति ट्रम्पका नजिकका मानिन्छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै आफूले टिकटकलाई बचाउन सकेकोमा खुसी व्यक्त गरेका छन्।

सबैभन्दा महत्त्वपूर्ण परिवर्तन भनेको टिकटकको चर्चित ‘एल्गोरिदम’ मा हुनेछ। अब यो एल्गोरिदमलाई अमेरिकी डेटामा मात्र आधारित भएर पुनः तालिम (Retrain) दिइनेछ र यसको रेखदेख ओरेकलले गर्नेछ। विज्ञहरूका अनुसार यसले गर्दा २० करोड अमेरिकी प्रयोगकर्ताले चलाउने टिकटकको ‘फिड’ र भिडियो सिफारिस गर्ने तरिकामा परिवर्तन आउन सक्छ। यो नयाँ व्यवस्थाले एपलाई सुरक्षित बनाए पनि विश्वव्यापी संस्करणको तुलनामा केही फरक र सुस्त बनाउन सक्ने अनुमान गरिएको छ।