युक्रेन-रुस-अमेरिका वार्ता सकारात्मक: युद्ध रोकिने आशा, फेब्रुअरी १ मा अर्को बैठक
- ११ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- लामो समयदेखि जारी विध्वंसकारी युद्ध अन्त्य हुने झिनो आशा पलाएको छ। शनिबार सकिएको युक्रेन, रुस र अमेरिकाबीचको दुई दिने त्रिपक्षीय वार्ता सकारात्मक रूपमा टुंगिएको छ। यो पहिलो पटक हो कि तीनै देशका अधिकारीहरू एउटै टेबलमा बसेर गम्भीर छलफलमा जुटेका थिए। वार्तामा भएको प्रगतिलाई लिएर अब अर्को चरणको बैठक फेब्रुअरी १ मा युनाइटेड अरब इमिरेट्स (UAE) मा गर्ने पक्का भएको छ।
राष्ट्रपति जेलेन्स्कीले पनि युद्ध अन्त्यका उपायहरूबारे खुलेर कुरा भएको बताएका छन्। वार्तामा सैनिक र आर्थिक विषयसँगै ‘युद्धविराम’ को कुरा पनि उठ्यो। तर, युक्रेनको जापोरिज्जिया आणविक ऊर्जागृह कसको नियन्त्रणमा रहने भन्ने कुरा अझै मिलेको छैन; यद्यपि त्यहाँ उत्पादन हुने बिजुली भने सबै पक्षले बाँडेर चलाउने सहमति भएको छ।
विडम्बना के छ भने, एकातिर कोठाभित्र शान्ति वार्ता भइरहेको थियो, अर्कोतिर बाहिर रुसले आक्रमण रोकेको थिएन। वार्ता चलिरहँदा रुसी ड्रोन आक्रमणमा परेर किएभमा एक जनाको मृत्यु भयो भने खार्किभमा २७ जना घाइते भए। युक्रेनी विदेशमन्त्रीले शान्ति प्रक्रियाकै बीचमा पुटिनले जनता तर्साउन आक्रमण गरेको भन्दै आक्रोश पोखेका छन्।