पानामा नहरबाट ‘आउट’ भयो चिनियाँ कम्पनी: अदालतद्वारा सम्झौता खारेज, अमेरिकालाई राहत
- १७ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- पानामाको सर्वोच्च अदालतले हङकङको कम्पनी ‘सीके हचिसन’ को सहायक कम्पनीलाई दिएको बन्दरगाह सञ्चालन अनुमति असंवैधानिक ठहर गरेको छ। बिहीबार आएको यो फैसलाले विश्वकै प्रमुख व्यापारिक मार्ग पानामा नहरमा चिनियाँ प्रभाव घटाउने अमेरिकी चाहनालाई ठुलो बल पुगेको छ।
राष्ट्रपति जोसे राउल मुलिनोले शुक्रबार जनतालाई आश्वस्त पार्दै भने, “अदालतको निर्णय जे भए पनि बन्दरगाहको काम एक छिन पनि रोकिने छैन।” उनका अनुसार, यो ठेक्का पूर्ण रूपमा खारेज नभएसम्म सरकारी निकायले नै कामको रेखदेख गर्नेछ। त्यसपछि डेनिस कम्पनी ‘मर्सक’ ले अन्तरिम कालका लागि जिम्मा लिनेछ र पछि नयाँ टेन्डर आह्वान गरिनेछ।
यो निर्णयलाई लिएर बेइजिङ र हङकङले कडा आपत्ति जनाएका छन्। हङकङ सरकारले यसले लगानीको वातावरण बिगार्ने चेतावनी दिएको छ भने चीनले आफ्ना कम्पनीको हितका लागि ‘आवश्यक कदम’ चाल्ने बताएको छ। उता ट्रम्प प्रशासन र अमेरिकी विदेशमन्त्री मार्को रूबियोले भने यसलाई ‘राष्ट्रिय सुरक्षा’ को विजयको रूपमा लिएका छन्। खासमा, सन् २०२१ मा २५ वर्षका लागि थपिएको यो सम्झौतामा ठुलो आर्थिक अनियमितता भएको र सरकारलाई १ अर्ब डलरभन्दा बढी घाटा लागेको लेखापरीक्षण रिपोर्टले देखाएको थियो।