फ्रान्सको ‘एक्स’ कार्यालयमा प्रहरीको छापा, मस्कलाई बयानका लागि बोलाइयो
- २० माघ २०८२
- १ मिनेटको पढाई
पेरिस- एलन मस्कको सामाजिक सञ्जाल ‘एक्स’ (पहिलाको ट्विटर) फेरि ठुलो कानुनी झमेलामा फसेको छ। फ्रान्सको पेरिसस्थित एक्सको कार्यालयमा सरकारी अधिकारीहरूले छापा मारेका छन्। यो घटनाले विश्व प्रविधि बजारमा नयाँ तरंग ल्याएको छ।
पेरिसको सरकारी वकिलको कार्यालयले यो छापाको पुष्टि गरेको छ। त्यहाँको ‘साइबर क्राइम युनिट’ ले युरोपेली प्रहरी संगठन ‘युरोपोल’ सँग मिलेर यो कारबाही अघि बढाएको हो। अधिकारीहरूका अनुसार यो छापा अचानक मारिएको होइन, बरु सन् २०२५ को जनवरीदेखि चलिरहेको एउटा गम्भीर अनुसन्धानको हिस्सा हो।
कुरा यतिमा मात्र रोकिएको छैन। यो प्रकरणमा सोधपुछका लागि एलन मस्क र एक्सकी पूर्व सीईओ लिन्डा याकारिनोलाई आउँदो अप्रिल महिनामा उपस्थित हुन आदेश दिइएको छ। उता, पेरिसको अभियोजक कार्यालयले अबदेखि आफूले ‘एक्स’ प्लेटफर्म प्रयोग नगर्ने घोषणा समेत गरेको छ। उनीहरूले अब आफ्ना सूचनाहरू लिंक्डइन र इन्स्टाग्रामबाट मात्र सार्वजनिक गर्ने बताएका छन्। यत्रो घटना हुँदा पनि एक्सको तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।