२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

१६ वर्षमुनिकालाई फेसबुक-टिकटक चलाउन मनाही: अस्ट्रेलियापछि अब स्पेनले पनि गर्यो कडा निर्णय

१६ वर्षमुनिकालाई फेसबुक-टिकटक चलाउन मनाही: अस्ट्रेलियापछि अब स्पेनले पनि गर्यो कडा निर्णय

म्याड्रिड- अब स्पेनका बालबालिकाले मनलाग्दी फेसबुक, इन्स्टाग्राम वा टिकटक चलाउन नपाउने भएका छन्। अस्ट्रेलियाले जस्तै अब स्पेनले पनि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो खबर सुन्दा तिमीलाई अचम्म लाग्न सक्छ, तर त्यहाँको सरकारले बालबालिकाको भविष्य जोगाउन यस्तो कडा कदम चालेको हो।

दुबईमा चलिरहेको एउटा विश्व सम्मेलनमा स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले यो कुरा सुनाएका हुन्। उनले भने, “हाम्रा केटाकेटीहरू सामाजिक सञ्जालमा देखिने घृणा, अश्लील सामग्री र गलत सूचनाको सिकार भइरहेका छन्।” त्यसैले अब सोसल मिडिया कम्पनीहरूले नै ‘उमेर प्रमाणीकरण’ सिस्टम राख्नुपर्नेछ, ताकि १६ वर्ष नपुगेकाले अकाउन्ट खोल्नै नसकून्।

कुरा यतिमै सकिँदैन। अर्को हप्ता स्पेन सरकारले एउटा नयाँ कानुन नै पेस गर्दैछ, जसले सोसल मिडियाका मालिक र हाकिमहरूलाई समेत कारबाहीको दायरामा ल्याउनेछ। यदि उनीहरूले आफ्नो प्लेटफर्ममा नराम्रा कुरा रोक्न सकेनन् भने अब जवाफ दिनुपर्नेछ। यसअघि अस्ट्रेलियाले यस्तो नियम ल्याइसकेको छ भने बेलायत र फ्रान्सले पनि यस्तै गर्ने सोचिरहेका छन्। कतै यो लहर अब विश्वभरि नै चल्ने त होइन?