२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

ट्रम्पको हार्वर्डसँग ‘महायुद्ध’: अनुदान काटेपछि मागे १ अर्ब डलर क्षतिपूर्ति

ट्रम्पको हार्वर्डसँग ‘महायुद्ध’: अनुदान काटेपछि  मागे १ अर्ब डलर क्षतिपूर्ति

वासिङ्टन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयबिचको झगडा अब चरम उत्कर्षमा पुगेको छ। पहिले अनुदान रोकेका ट्रम्पले अब विश्वविद्यालयसँग उल्टै १ अर्ब डलर (करिब १ खर्ब ३५ अर्ब रुपैयाँ) क्षतिपूर्ति मागेर सबैलाई चकित पारेका छन्।

खासमा कुरा के भने, ‘न्यूयोर्क टाइम्स’ ले एउटा समाचार छाप्यो– “ट्रम्प प्रशासन हार्वर्डसँग २० करोड डलर माग्न खोज्दै थियो, तर पछि हट्यो।” यो देखेपछि ट्रम्प आगो भए। उनले सोमबार राति आफ्नो सोसल मिडिया ‘ट्रुथ सोसल’ मा लेख्दै भने, “हार्वर्डले मिडियालाई बकवास कुरा सुनाइरहेको छ, अब मलाई २० करोड होइन, १ अर्ब डलर चाहिन्छ।”

यो लफडाको मुख्य कारण भनेको विश्वविद्यालयमा भएका प्यालेस्टाइन समर्थक प्रदर्शनहरू हुन्। ट्रम्प प्रशासनको आरोप छ कि– हार्वर्डले यहुदीविरोधी घटना रोक्न केही पनि गरेन। तर, विश्वविद्यालयले भने यो आरोप अस्वीकार गर्दै आएको छ। सम्झना गर त, गत वर्षको अप्रिलमा पनि ट्रम्पले हार्वर्डलाई दिइँदै आएको करिब २ अर्ब डलरको अनुसन्धान अनुदान काटिदिएका थिए। अहिले फेरि क्षतिपूर्ति मागेर उनले यो द्वन्द्वलाई अर्को तहमा पुर्‍याइदिएका छन्।