२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

क्यानडाको टम्बलर रिजमा गोली काण्ड: ९ जनाको मृत्यु, २५ घाइते

क्यानडाको टम्बलर रिजमा गोली काण्ड: ९ जनाको मृत्यु, २५ घाइते

क्यानडा- क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियास्थित टम्बलर रिजमा भएको गोली काण्डले सिङ्गो समुदाय शोकमा डुबेको छ। त्यहाँ भएको अन्धाधुन्ध गोली प्रहारमा परी ९ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्।

मृत्यु हुनेमध्ये ६ जना टम्बलर रिज सेकेन्डरी स्कुलका छन्। कक्षा १२ का विद्यार्थी डेरियन क्विस्टका अनुसार गोली चल्न थालेपछि उनी र उनका साथीहरूले कक्षाकोठाको ढोकामा टेबलहरू राखेर छेकेका थिए।

यो सानो र शान्त सहरमा भएको घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ। स्थानीय काउन्सिलर क्रिस नर्बरीले भने, “हामी यहाँ घरका ढोका कहिल्यै लगाउँदैनथ्यौँ, यो ठाउँ एकदमै सुरक्षित थियो। आफ्ना मान्छे खतरामा छन् भन्ने थाहा पाउँदाको डर शब्दमा बयान गर्न सकिँदैन।” उनकी श्रीमती सोही स्कुलमा काम गर्छिन्।

नगर प्रमुख ड्यारिल क्राकोकाले आफू १९ वर्षदेखि त्यहाँ बसेको र मृतक सबैलाई व्यक्तिगत रूपमा चिन्न सक्ने भन्दै सिङ्गो सहरलाई आफ्नो परिवार जस्तै मानेको बताए। स्थानीय पत्रकार ट्रेन्ट अर्न्स्टले यस्ता घटना अन्यत्र मात्र हुन्छन् भन्ने भ्रम यो घटनासँगै चकनाचुर भएको प्रतिक्रिया दिएका छन्।