बंगलादेशमा बीएनपीको बहुमत: तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का
- ०१ फाल्गुन २०८२
- १ मिनेटको पढाई
ढाका (बंगलादेश)- विद्यार्थी आन्दोलनपछि बंगलादेशमा भएको पहिलो संसदीय चुनावमा ‘बंगलादेश नेसनललिस्ट पार्टी’ (बीएनपी) ले स्पष्ट बहुमत ल्याएको छ। बिहीबार भएको मतदानमा २९९ सिटमध्ये बीएनपीले १६५ सिट जितेको हो।
यो जितसँगै पार्टीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ। पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा रहमान १७ वर्ष लामो निर्वासनपछि हालै बेलायतबाट स्वदेश फर्किएका हुन्। सेख हसिनाको शासनकालमा देश छोड्न बाध्य भएका रहमान फर्किएलगत्तै चुनावी मैदानमा होमिएका थिए। उनी दुईवटा निर्वाचन क्षेत्रबाट सांसद चुनिएका छन्।
उता ‘जमात-ए- इस्लामी’ नेतृत्वको ११ दलीय गठबन्धनले भने ४५ सिटमा चित्त बुझाएको छ। जमातका प्रमुख सफिकुर रहमान ढाकाबाट निर्वाचित भएका छन्। चुनावमा ३ जना स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेका छन्। ३०० सिट रहेको संसदमा २९९ सिटमा मात्र चुनाव भएको थियो।