पतिसँगको सम्बन्ध सुधार्न ‘जोखाना’ हेराउन गएकी महिला तान्त्रिकसँगै फरार
- ०१ फाल्गुन २०८२
- १ मिनेटको पढाई
भारत- भारतको मध्य प्रदेशस्थित इन्दौरमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। पतिसँगको बिग्रिएको सम्बन्ध सुधार्न भन्दै तान्त्रिककहाँ गएकी एक महिला तिनै तान्त्रिकसँग भागेकी छन्।
इन्दौरको वाणगंगा क्षेत्रकी ती महिला घरबाट अचानक सुनचाँदीका गरगहना र नगदसहित बेपत्ता भएकी थिइन्। परिवारले खोजी गर्दा फेला नपरेपछि प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले ‘प्राविधिक प्रमाण’ का आधारमा अनुसन्धान गर्दा उनी भोपालमा रहेको पत्ता लाग्यो। प्रहरी टोलीले उनलाई भोपालबाट नियन्त्रणमा लिएर इन्दौर ल्याएको छ।
प्रहरी अधिकारी एसीपी रुबिना मिजबानीका अनुसार, ती महिला लामो समयदेखि पतिसँगको खटपटबाट तनावमा थिइन्। सोही क्रममा उनले राकेश जाटव नाम गरेका तान्त्रिकलाई भेटिन्। राकेशले घरको समस्या हटाइदिने भन्दै पूजापाठ गर्न थाले। बिस्तारै उनीहरूबिच हिमचिम बढ्यो र महिलाले राकेशसँगै बस्ने निर्णय गरिन्।
प्रहरीका अनुसार राकेशले तन्त्रमन्त्रको नाममा मानिसहरूलाई प्रभावमा पार्ने काम गर्थे। महिलालाई ललाइफकाई लगिएको हो वा उनी राजीखुसी गएकी हुन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।