अमेरिकाले भेनेजुएलामा ‘गोप्य हतियार’ प्रयोग गरेको ट्रम्पको खुलासा: रुस र चीनका सिस्टम फेल
- ०३ फाल्गुन २०८२
- १ मिनेटको पढाई
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा भएको सैन्य कारबाहीमा एउटा ‘अत्यन्तै गोप्य हतियार’ प्रयोग गरिएको खुलासा गरेका छन्। गत जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न चलाइएको अपरेसनमा उक्त हतियार प्रयोग भएको हो।
नर्थ क्यारोलिनाको ‘फोर्ट र्ब्याग’ सैन्य शिविरमा बोल्दै ट्रम्पले उक्त हतियारलाई ‘डिसकम्बोबुलेटर’ को संज्ञा दिए। उनले भने, “त्यो हतियारका कारण भेनेजुएलाका सैनिकले एक राउन्ड गोली पनि चलाउन पाएनन्। त्यहाँ जडान गरिएका रुसी र चिनियाँ डिफेन्स सिस्टमले कामै गरेनन्।” सुरक्षा संवेदनशीलता भन्दै उनले हतियारको विस्तृत विवरण भने खुलाएनन्।
अमेरिकी सेनाका अनुसार, यो अपरेसनमा २० वटा सैन्य अखडाबाट १५० भन्दा बढी विमान परिचालन गरिएको थियो। रातिको समयमा हेलिकोप्टरबाट ओर्लिएका कमान्डोहरूले कडा सुरक्षाबिच मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएका थिए। यो कारबाहीमा ८३ जनाको मृत्यु भएको थियो भने अमेरिकी तर्फ ३ जना पाइलट घाइते भएका थिए।
न्युयोर्क टाइम्सका अनुसार, अमेरिकाले शक्तिशाली ‘सोनिक हतियार’ प्रयोग गरेको आशंका गरिएको छ। भेनेजुएलाका सुरक्षाकर्मीहरूले कारबाहीका बेला अचानक राडार बन्द भएको र टाउको फुट्ने गरी तिखो आवाज आएको बताएका छन्। उक्त आवाजका कारण सैनिकहरूको नाकबाट रगत बगेको र रगत बान्ता गर्दै भुइँमा ढलेको बताइएको छ।