२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

भारतमा सडकमै विमान अवतरण

भारतमा सडकमै विमान अवतरण

भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको सेनाको जहाज आइतबार आसाम राज्यको सडकमै अवतरण गरेको छ।

‘सी–१३० जे सुपर हरक्युलिस’ विमान मोरान बाइपासस्थित ४.२ किलोमिटर लामो सडकमा अवतरण गराइएको हो। भारतीय वायुसेनासँगको सहकार्यमा यो सडकलाई विमान धावनमार्ग जस्तै बलियो बनाइएको छ। राफेल, सुखोई जस्ता शक्तिशाली लडाकु विमानहरूले पनि त्यही सडकबाट उडान र अवतरणको कला देखाएका थिए।

रक्षा विज्ञहरूले यसलाई चीनको सीमा नजिक भारतले दिएको रणनीतिक सन्देश भनेका छन्। युद्धका बेला दुश्मनले मुख्य विमानस्थलहरूमा आक्रमण गरे पनि सडकबाटै लडाकु विमान उडाउन र लडाइँ जारी राख्न सकियोस् भनेर यो अभ्यास गरिएको हो। यसलाई ‘अपरेसन सिन्दुर’ बाट सिकिएको पाठका रूपमा पनि हेरिएको छ।