२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

सुडानमा ३ दिनमै ६ हजारको नरसंहार: राष्ट्रसंघको कहालीलाग्दो प्रतिवेदन

सुडानमा ३ दिनमै ६ हजारको नरसंहार: राष्ट्रसंघको कहालीलाग्दो प्रतिवेदन

न्युयोर्क – सुडानको डारफर क्षेत्रमा गत अक्टोबरको अन्त्यमा भएको हिंसामा ३ दिनभित्रै ६ हजारभन्दा बढी मानिस मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

शुक्रबार जारी गरिएको प्रतिवेदन अनुसार, र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) र उसका सहयोगी ‘जनजाविद’ समूहले अल–फाशेर सहरमा यो नरसंहार मच्चाएका हुन्। अक्टोबर २६ मा १८ महिनाको घेराबन्दीपछि आरएसएफले सुडानी सेनाको अन्तिम गढ मानिने यो सहर कब्जा गरेको थियो। त्यसक्रममा सामूहिक हत्या, यौन हिंसा, अपहरण र यातना जस्ता ‘युद्ध अपराध’ भएको राष्ट्रसंघले उल्लेख गरेको छ।

प्रत्यक्षदर्शीहरूले सहरको दृश्य कुनै ‘डरलाग्दो फिल्म’को जस्तै भएको र जताततै लासहरू छरिएको बताएका छन्। आरएसएफका जनरल मोहम्मद हमदान दगालोले भने यति ठुलो हिंसा भएको कुरा अस्वीकार गर्दै आएका छन्। राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अपराधीलाई कारबाही नहुँदा हिंसा बढेको चिन्ता व्यक्त गरेका छन्।