२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

भारतमा आजदेखि संसारकै ठुलो ‘एआई समिट’: गुगल र ओपनएआईका हाकिम दिल्लीमा

भारतमा आजदेखि संसारकै ठुलो ‘एआई समिट’: गुगल र ओपनएआईका हाकिम दिल्लीमा

नयाँ दिल्ली (भारत)- भारतको राजधानी नयाँ दिल्लीमा सोमबारदेखि ‘एआई इम्प्याक्ट समिट २०२६’ सुरु भएको छ। पाँच दिनसम्म चल्ने यो सम्मेलनलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी संसारकै सबैभन्दा ठुलो कार्यक्रम मानिएको छ।

सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन्। यसमा भाग लिन विश्वका चर्चित प्रविधि कम्पनीका प्रमुखहरू र विभिन्न देशका नेताहरू दिल्ली जम्मा भएका छन्। गुगलका सुन्दर पिचाई, ओपनएआई (च्याटजीपीटी) का स्याम अल्टम्यान, माइक्रोसफ्टका ब्राड स्मिथ र एडोबका शान्तनु नारायण जस्ता दिग्गजहरू सहभागी हुँदै छन्। यस्तै, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भा पनि सम्मेलनमा आउनेछन्।

भारतले यो सम्मेलनमार्फत ‘ग्लोबल साउथ’ अर्थात् विकासशील देशहरूको आवाज उठाउने बताएको छ। एआई प्रविधि केही धनी देशको कब्जामा मात्र सीमित नभई कृषि, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा सबैले प्रयोग गर्न पाउनुपर्ने विषयमा यहाँ छलफल हुनेछ।

सम्मेलनमा १०० भन्दा बढी देशका प्रतिनिधि, ४० भन्दा बढी कम्पनीका सीईओ र ५०० भन्दा बढी स्टार्टअपहरू सहभागी छन्। फेब्रुअरी २० मा घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ। यस क्रममा भारतले आफ्नै एआई मोडलहरू पनि सार्वजनिक गर्ने सम्भावना छ।