२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

इरानलाई घेर्न अमेरिकाले पठायो शक्तिशाली युद्धपोत र लडाकु विमान, ‘मिडनाइट ह्यामर’ भन्दा ठुलो तयारी

इरानलाई घेर्न अमेरिकाले पठायो शक्तिशाली युद्धपोत र लडाकु विमान, ‘मिडनाइट ह्यामर’ भन्दा ठुलो तयारी

न्युयोर्क – अमेरिकाले इरानलाई दबाब दिन मध्यपूर्वमा ठुलो संख्यामा युद्धपोत र लडाकु विमानहरू तैनाथ गरेको छ। बीबीसी भेरिफाईले उपग्रह तस्बिरको विश्लेषण गर्दै अमेरिकी विमानवाहक युद्धपोत ‘युएसएस अब्राहम लिंकन’ इराननजिकै ओमानको तटीय क्षेत्रमा आइपुगेको पुष्टि गरेको छ। मंगलबार स्विट्जरल्याण्डमा अमेरिकी र इरानी अधिकारीहरूबिच दोस्रो चरणको वार्ता हुँदै गर्दा यो तैनाथी सार्वजनिक भएको हो। इरानले आणविक कार्यक्रम र नाकाबन्दी फुकुवाबारे छलफल गर्न चाहेको छ भने अमेरिकाले इरानको सैन्य गतिविधि र प्रदर्शनकारीमाथिको दमनलाई मुख्य मुद्दा बनाएको छ।

जनवरीको अन्त्यमा खाडी क्षेत्रमा पठाइएको भनिएको ‘युएसएस अब्राहम लिंकन’ पहिलो पटक तस्बिरमा देखिएको हो। इरानभन्दा करिब ७०० किलोमिटर टाढा ओमानको तटमा रहेको यो जहाजमा एफ–३५ सहित ९० वटा लडाकु विमान र ५ हजार ६ सय ८० जना सैनिक रहेका छन्। यसबाहेक अमेरिकाले विश्वकै सबैभन्दा ठुलो युद्धपोत ‘युएसएस जेराल्ड आर फोर्ड’ पनि मध्यपूर्व पठाएको छ, जुन ३ हप्ताभित्र त्यहाँ पुग्ने बताइएको छ। अहिले मध्यपूर्वमा अमेरिकाका १२ वटा ठुला युद्धपोत सक्रिय छन्। अरब सागर, बहराइन, भूमध्यसागर र लाल सागरमा क्षेप्यास्त्र हान्न सक्ने रक्षक जहाजहरू तैनाथ गरिएका छन्। जोर्डनको सैन्य बेसमा पनि लडाकु विमानको संख्या बढाइएको छ।

अमेरिकी उपस्थितिलाई चुनौती दिँदै इरानको ‘स्लामिक रिभोल्युसनरी गार्ड कर्प्स’ ले सोमबार हर्मुजको जलडमरुमा सैन्य अभ्यास गरेको छ। विश्वको एक तिहाइ तेल ओसारपसार हुने मुख्य नाकामा गरिएको अभ्यासका क्रममा जहाजबाट क्षेप्यास्त्र प्रहार गरिएको थियो। सैन्य गुप्तचर विज्ञ जस्टिन क्रम्पका अनुसार अहिलेको अमेरिकी तयारी गत जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न वा गत जुनमा इरानको आणविक भट्टीमा गरिएको ‘अपरेसन मिडनाइट ह्यामर’ भन्दा निकै फरक र शक्तिशाली छ।

विज्ञहरूले यसलाई केवल आक्रमणको तयारी मात्र नभई लामो समयसम्म टिकिरहने घेराबन्दी भनेका छन्। अमेरिकाले दिनमा ८०० पटकसम्म हवाई हमला गर्न सक्ने क्षमता त्यहाँ बनाएको छ। यसको मुख्य उद्देश्य इरानलाई कुनै पनि जवाफी कारबाही गर्न नसक्ने बनाउनु र इजरायलको सुरक्षा सुनिश्चित गर्नु रहेको बताइएको छ।