बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ: यौन अपराधीलाई गोप्य सूचना दिएको आरोप
- ०७ फाल्गुन २०८२
- १ मिनेटको पढाई
लन्डन- बेलायतका राजा चार्ल्सका भाइ तथा पूर्व राजकुमार एन्ड्रयु सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन्। यौन अपराधी जेफ्री एपस्टिनलाई गोप्य सूचना दिएको उजुरीमाथि अनुसन्धान गर्दै प्रहरीले उनलाई हिरासतमा लिएको हो।
थेम्स भ्याली प्रहरीले बिहीबार नोरफोकको स्यान्ड्रिङ्घमबाट उनलाई पक्राउ गरेको हो। गत वर्ष राजकुमारको उपाधि गुमेपछि उनले विन्डसरको रोयल लज छाडेर त्यहीँ बस्दै आएका थिए। एन्ड्रयुले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन्। पूर्व राजकुमार यसरी पक्राउ परेको यो पहिलो घटना हो।
प्रहरीले राष्ट्रिय नियमअनुसार पक्राउ परेका व्यक्तिको नाम नखुलाई ६० वर्षभन्दा माथिका एक व्यक्तिलाई पक्राउ गरिएको विज्ञप्तिमार्फत जनाएको छ। अहिले बर्कशायर र नोरफोकमा खानतलासी चलिरहेको छ। प्रहरी अधिकारी ओलिभर राइटले यो विषयमा गम्भीर अनुसन्धान सुरु भएको र उचित समय आएपछि थप जानकारी दिने बताए।