अमेरिकाको चेतावनी: जलवायु लक्ष्य नत्यागे अन्तर्राष्ट्रिय ऊर्जा निकाय छाड्छौँ
- ०७ फाल्गुन २०८२
- १ मिनेटको पढाई
पेरिस- अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए) बाट बाहिरिने चेतावनी दिएका छन्। फ्रान्सको पेरिसमा आयोजित मन्त्रीस्तरीय बैठकको अन्तिम दिन बोल्दै उनले आइइएलाई शून्य कार्बन उत्सर्जनको लक्ष्य त्याग्न दबाब दिने बताए।
५२ वर्षअघि सन् १९७३ को पेट्रोलियम सङ्कटपछि ऊर्जा सुरक्षा सुनिश्चित गर्न यो संस्था स्थापना भएको थियो। तर पछिल्लो समय यसले सन् २०५० सम्ममा शून्य उत्सर्जनमा पुग्ने जलवायु नीति अपनाएको भन्दै अमेरिकाले असन्तुष्टि जनाएको छ। मन्त्री राइटले संस्था आफ्नो पुरानो र मूल उद्देश्यमा फर्किनुपर्नेमा जोड दिए।
पत्रकार सम्मेलनमा बोल्दै राइटले आगामी एक वर्षसम्म अमेरिकाले संस्थालाई उक्त जलवायु नीतिबाट पछि हट्न पूर्ण दबाब दिने बताए। उनले ऊर्जा सुरक्षा र पहुँचको मूल उद्देश्यमा संस्था केन्द्रित नभए अमेरिकाले यसको सदस्यता तत्कालै त्याग्ने स्पष्ट पारेका छन्।