२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

नयाँदिल्लीमा ‘इन्डो-नेपाल ट्रेड फेस्टिभल’: लगानी र पर्यटन प्रवर्द्धनमा जोड

नयाँदिल्लीमा ‘इन्डो-नेपाल ट्रेड फेस्टिभल’: लगानी र पर्यटन प्रवर्द्धनमा जोड

नयाँदिल्ली, भारत- नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक र व्यापारिक उचाइमा पुर्‍याउने उद्देश्यका साथ नयाँदिल्लीमा ‘इन्डो-नेपाल ट्रेड फेस्टिभल’ को दोस्रो संस्करण सुरु भएको छ। ‘कनेक्टिङ पिपुल, इन्हान्सिङ बाइलेटरल ट्रेड’ नाराका साथ हौजखासस्थित पीएडी भवनमा शुक्रबारदेखि यो महोत्सव सुरु भएको हो।

महोत्सवको उद्घाटन गर्दै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले दुई देशको ‘रोटी-बेटी’ को सम्बन्धलाई अब आर्थिक समृद्धि र लगानीमा बदल्नुपर्ने बताए। उनले नेपालका रामग्राम जस्ता धार्मिक स्थलको भारतमा थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। साथै, उनले निर्यातका लागि सोयाबिन र पाम आयलमा मात्र भर नपरी अन्य उत्पादन बढाउन निजी क्षेत्रलाई आग्रह गरे।

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महाबरले नेपालमा हुन लागेको निर्वाचनका लागि भारतले आवश्यक सहयोग उपलब्ध गराएको जानकारी दिए। उनले जलविद्युत र डिजिटल भुक्तानीमा भएको सहकार्यले दुवै देशलाई फाइदा पुगेको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालका होटल, केबलकार र पर्यटन पूर्वाधारमा भारतीय लगानीकर्तालाई ‘जोइन्ट भेन्चर’ का लागि आह्वान गरे। उनले १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ मार्फत प्रवासी नेपालीलाई पनि लगानीमा जोडिन आग्रह गरे।

महोत्सवको पहिलो दिन ब्रिटिस गोर्खाको वीरतामा आधारित नेपाली चलचित्र ‘गोर्खा वारिअर’ प्रदर्शन गरिएको थियो। तीन दिनसम्म चल्ने यस महोत्सवमा जलविद्युत्, सीमापार व्यापार र डिजिटल अर्थतन्त्र लगायतका विषयमा १० भन्दा बढी छलफल सत्रहरू हुनेछन्। ६० भन्दा बढी स्टल रहेको मेलामा २५ हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरिएको छ।