न्युयोर्कमा करेक्सन विभागको देसी सोसाइटीद्वारा ‘महाराजा र महारानीको नाइट’ आयोजना
१२ फाल्गुन २०८२
१ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्क सिटी करेक्सन (सुधार) विभागको देसी सोसाइटीले ‘महाराजा र महारानीको नाइट’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ। दक्षिण एसियाली र इन्डो–क्यारेबियन सम्पदा, व्यावसायिक उत्कृष्टता र समुदायको एकता मनाउन यो कार्यक्रम गरिएको हो।
कार्यक्रमको सुरुवात अमेरिकी राष्ट्रिय गानबाट भयो। त्यसपछि विभागको टोलीले औपचारिक सलामी र मार्च पास गरेका थिए। कार्यक्रम स्थललाई परम्परागत दक्षिण एसियाली शैलीमा सजाइएको थियो। त्यहाँ भजन, भांगडा, परम्परागत नृत्य र बाजागाजा प्रस्तुत गरियो। कार्यक्रममा कानुन कार्यान्वयन गर्ने उच्च अधिकारीहरु र दक्षिण एसियाली समुदायका परिवारहरु सहभागी थिए।
देसी सोसाइटीकी ट्रष्टी डा. मरियम सिंहले समुदायको प्रगतिमा गर्व लागेको बताइन्। उनले सिख र समग्र दक्षिण एसियाली समुदायका व्यक्तिहरु सहरको उच्च पदमा पुगेको भन्दै खुसी व्यक्त गरिन्। यसैगरी, सोसाइटीका अध्यक्ष मुनिस चोपडाले समाजमा सकानाइट्मक भूमिका खेल्नेलाई प्रोत्साहन गर्नुपर्ने बताए।
कार्यक्रममा न्युयोर्कका विभिन्न जनप्रतिनिधिहरुले देसी सोसाइटीलाई सम्मानपत्र प्रदान गरे। उनीहरुले यस्ता कार्यक्रमले सबै नागरिकबीच भाइचारा र एकता बढाउने बताए। त्यस्तै, सार्वजनिक सेवा र कानुन कार्यान्वयनको क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई विशेष पुरस्कार दिइयो। अन्त्यमा सोसाइटीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दियो।