२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

मध्यपूर्वमा तनाव: इरानी सर्वोच्च नेता खामेनेईको मृत्यु र खाडी क्षेत्रमा आक्रमण

मध्यपूर्वमा तनाव: इरानी सर्वोच्च नेता खामेनेईको मृत्यु र खाडी क्षेत्रमा आक्रमण

न्युयोर्क -मध्यपूर्वमा युद्धको ज्वाला दन्किएपछि त्यहाँ कार्यरत लाखौँ नेपाली कामदारहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ। संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको पुष्टि भएको छ। यस घटनाको बदलामा इरानले खाडीका विभिन्न मुलुकमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ।

आइतबार बिहान (मार्च १) इरानी सरकारी सञ्चारमाध्यमहरूले ८६ वर्षीय सर्वोच्च नेता अली खामेनेईको मृत्यु भएको आधिकारिक पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली अधिकारीहरूका अनुसार शनिबार तेहरानस्थित खामेनेईको निवास र कार्यालयलाई लक्षित गरी गरिएको संयुक्त हवाई आक्रमणमा उनको मृत्यु भएको हो। उक्त आक्रमणमा खामेनेईका परिवारका केही सदस्य र अन्य उच्च अधिकारीहरू पनि मारिएको बताइएको छ।

खामेनेईको मृत्यु र इरानमाथि भएको आक्रमणको प्रतिशोधमा इरानी रेभोलुसनरी गार्ड्स (IRGC) ले खाडी क्षेत्रका छिमेकी मुलुकहरूमा रहेका अमेरिकी सैन्य बेसहरूमा दर्जनौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ।

कुवेतको अली अल-सालेम एयर बेसमा इरानी ड्रोनले क्षति पुर्‍याएको र विमानस्थल क्षेत्रमा ठुलो विस्फोट भएको खबरहरु आइरहेकाे छ।

बहराइन स्थित अमेरिकी नौसेनाको मुख्यालयलाई लक्षित गरी आक्रमण भएको छ।

त्यस्तै कतारको अल-उदेद र दुबईको अल-धफ्रा एयर बेसमा क्षेप्यास्त्र प्रहार भएका छन्। यद्यपि, कतार र दुबईका रक्षा मन्त्रालयहरूले धेरैजसो क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरिएको दाबी गरेका छन्। दुबईको जेबेल अली बन्दरगाह नजिकै धुवाँको मुस्लो देखिएका तस्बिरहरू सार्वजनिक भएका छन्।

खाडी मुलुकहरूमा अहिले करिब २० लाख नेपालीहरू कार्यरत छन्। अहिलेको युद्धले विशेषगरी खुला ठाउँमा काम गर्ने निर्माण मजदुर र सुरक्षा गार्डका रूपमा कार्यरत नेपालीहरूलाई प्रत्यक्ष जोखिममा पारेको छ। कतार र युएई सरकारले आफ्ना नागरिक र आप्रवासी कामदारहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन ‘इमर्जेन्सी अलर्ट’ जारी गरेका छन्।
नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सको ठुलो हिस्सा खाडी मुलुकबाट आउँछ। युद्ध लम्बिएमा रेमिट्यान्स प्रवाह ठप्प हुने र देशको अर्थतन्त्रमा गम्भीर संकट आउने देखिन्छ।

मध्यपूर्वको आकाश असुरक्षित भएपछि काठमाडौँबाट दोहा, दुबई र रियाद जाने उडानहरू अवरुद्ध भएका छन्। यसले गर्दा सयौँ नेपालीहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन्।
यदि स्थिति नियन्त्रण बाहिर गएमा झन्डै २० लाख नेपालीलाई सुरक्षित स्वदेश फर्काउनु नेपाल सरकारका लागि निकै ठुलो चुनौती हुनेछ।

नेपालको परराष्ट्र मन्त्रालयले इजरायल, इरान र खाडी मुलुकमा रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न र दूतावासको सम्पर्कमा रहन आग्रह समेत गरेको छ।

हालसम्म नेपाली दूतावास वा नेपाल सरकारबाट आपतकालीन उद्धार, निकासी वा गम्भीर सुरक्षा संकटबारे सूचना जारी गरिएको छैन। त्यसैले अहिलेको अवस्थामा तत्काल ठूलो मानवीय संकट भएको देखिँदैन।

यद्यपि मध्यपूर्वको परिस्थिति संवेदनशील छ। यदि भविष्यमा तनाव चर्कियो भने तेलको मूल्य वृद्धि, रेमिट्यान्समा असर, रोजगारी अस्थिरता जस्ता प्रभाव नेपालमा पर्न सक्छन्।