यूएईमा इरानको आक्रमण: एक नेपालीसहित ३ जनाको ज्यान गयो, ५८ घाइते
- १७ फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- इरानले संयुक्त अरब इमिरेट्स (यूएई) मा गरेको आक्रमणमा परेर एक नेपालीसहित तीन जनाको ज्यान गएको छ। यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले ज्यान गुमाउनेमध्ये एक जना नेपाली रहेको पुष्टि गरे। उनको परिचय भने खुल्न बाँकी छ। घटनामा ज्यान गुमाउने अरु दुई जना पाकिस्तान र बंगलादेशका नागरिक हुन्।
यस आक्रमणमा परेर विभिन्न देशका ५८ जना घाइते भएका छन्। घाइते हुनेहरुमा यूएई, भारत, पाकिस्तान, बंगलादेश लगायत १५ देशका नागरिक छन् र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।
यूएईको रक्षा मन्त्रालयले इरानी आक्रमणको कडा जवाफ दिइरहेको जनाएको छ। मन्त्रालयका अनुसार गएको केही दिनयता इरानले प्रहार गरेका १६५ वटा ब्यालेस्टिक क्षेप्यास्त्र, २ वटा क्रुज क्षेप्यास्त्र र ५४१ वटा ड्रोनको यूएईको सेनाले सामना गरेको छ। धेरैजसो क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै नष्ट गरिएको र केही समुद्रमा खसेको सेनाले बताएको छ। तर ३५ वटा ड्रोनले देशको सीमाभित्र खसेर भौतिक क्षति पुर्याएका छन्।
यूएईको सेना जुनसुकै खतरासँग जुध्न तयार रहेको मन्त्रालयले स्पष्ट पारेको छ। नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै मन्त्रालयले आधिकारिक सूचनामा मात्र विश्वास गर्न र हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ।