अमेरिकालाई सैन्य आधार प्रयोग गर्न बेलायतको अनुमति, खाडीमा लडाकु विमान तैनाथ
- १८ फाल्गुन २०८२
- १ मिनेटको पढाई
लन्डन- बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले इरानमाथिको आक्रमणमा बेलायत प्रत्यक्ष सहभागी नभएको स्पष्ट पारेका छन्। तर, इरानको मिसाइल खतरा रोक्न उनले अमेरिकालाई बेलायती सैन्य आधार प्रयोग गर्न दिने बताएका छन्।
गएको फागुन १६ गते अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरेका थिए। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी र उनका परिवारका सदस्य मारिएका थिए। प्रधानमन्त्री स्टार्मरले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै खाडी क्षेत्रमा रहेका करिब दुई लाख बेलायती नागरिकको सुरक्षाका लागि बेलायत प्रतिबद्ध रहेको बताएका छन्। इरानले बेलायती नागरिक रहेका विमानस्थल र होटलमा समेत प्रहार गरेको उनले जानकारी दिए।
हिजो मात्र इरानले बहराइनमा रहेको एक सैन्य अड्डामा आक्रमण गर्दा बेलायती सैनिकहरू मुस्किलले बचेका थिए। सर्वोच्च नेताको ज्यान जाँदैमा इरानको आक्रमण नरोकिने भन्दै स्टार्मरले इरानको रणनीति झन् खतरनाक बन्दै गएको बताए। वार्ताबाटै समाधान खोज्नुपर्ने बताउँदै उनले इरानले आणविक हतियार बनाउने सोच त्याग्नुपर्ने कुरामा जोड दिए।
बेलायतले आफ्ना लडाकु विमान खाडी क्षेत्रमा खटाइसकेको छ। ती विमानले इरानका केही प्रहारलाई निस्तेज पारिसकेका छन्। इराक युद्धको गल्तीबाट पाठ सिकेको भन्दै स्टार्मरले यो निर्णय अन्तर्राष्ट्रिय कानुनअनुसार नै भएको र यसको कानुनी आधार छिट्टै सार्वजनिक गर्ने प्रस्ट पारे।