२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

तेहरानको राष्ट्रपति कार्यालयमा इजरायलको आक्रमण, इरानमा ज्यान गुमाउनेको सङ्ख्या ७८७ पुग्यो

तेहरानको राष्ट्रपति कार्यालयमा इजरायलको आक्रमण, इरानमा ज्यान गुमाउनेको सङ्ख्या ७८७ पुग्यो

न्युयोर्क- इजरायलले इरानको राजधानी तेहरानमा फेरि अर्को ठूलो आक्रमण गरेको छ। इजरायलले राष्ट्रपति कार्यालयलाई नै निशाना बनाएको दाबी गरेको सञ्चारमाध्यमले जनाएका छन्। शनिबारदेखि भइरहेका लगातारका आक्रमणमध्ये यो पछिल्लो घटना हो।

इरानी रेड क्रिसेन्टका अनुसार अमेरिका र इजरायलले आक्रमण सुरु गरेयता इरानमा ज्यान गुमाउनेको सङ्ख्या ७ सय ८७ पुगेको छ। घटनामा धेरै मानिस घाइते भएका छन्। यसअघि शनिबार भएको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको इरानका सरकारी सञ्चारमाध्यमले पुष्टि गरिसकेका छन्।

यसैबीच, इजरायलका रक्षामन्त्रीले आफूमाथिको आक्रमण रोक्न लेबनानतर्फ सेना पठाएर थप रणनीतिक क्षेत्र कब्जा गर्ने चेतावनी दिएका छन्। उता साउदी अरबको राजधानी रियादमा रहेको अमेरिकी दूतावासमा दुईवटा ड्रोन आक्रमण भएको छ। यो आक्रमण इरानबाटै भएको हुन सक्ने अनुमान गरिएको छ।

युद्धको असर विश्व बजारमा पनि परेको छ। कच्चा तेल र ग्यासको भाउ बढेको छ भने सेयर बजार घटेको छ। यसैगरी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा बेलायती सैन्य शिविर प्रयोग गर्न नदिएको भन्दै बेलायतका प्रधानमन्त्री कियर स्टार्मरको फेरि आलोचना गरेका छन्।