यूएईको तेल भण्डारण केन्द्रमा आगलागी, भूउपग्रह तस्बिरमा देखियो क्षति
- १९ फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराह तेल भण्डारण केन्द्रमा आगलागी भएको छ। सार्वजनिक भएका दुईवटा भिडिओमा ओमानको खाडी किनारमा रहेको उक्त केन्द्रमा आगो लागेको देखिएको बीबीसीले जनाएको छ। एउटा भिडिओ सडकबाट र अर्को नजिकैको बस्तीबाट खिचिएको छ, जसमा कालो धुवाँको ठूलो मुस्लो उडेको देखिन्छ।
केन्द्र सञ्चालन गर्ने ऊर्जा कम्पनी भिटिटीआईले सावधानी अपनाउँदै तत्कालका लागि सम्पूर्ण काम रोकेको बताएको छ। अवस्था हेरेर उपयुक्त समयमा मात्रै फेरि काम सुरु गर्ने कम्पनीले जानकारी दिएको छ।
मङ्गलबार बिहान खिचिएका भूउपग्रहका तस्बिरमा कम्तीमा एउटा तेल ट्याङ्कीमा क्षति पुगेको र वरपर जलेको डाम देखिएको छ। नासाको भूउपग्रहले पनि मङ्गलबार बिहान ९ बजेतिर उक्त स्थानमा अत्यधिक तापक्रम मापन गरेको थियो।
फुजैराह तेल भण्डारण केन्द्रमा १२ लाख घनमिटर तेल भण्डारण गर्न सकिन्छ। यो केन्द्र ओमानको खाडीमै जोडिएकाले यहाँ आउने तेलका जहाज साँगुरो होर्मुज जलडमरू पार गरेर जानु पर्दैन। इरानले होर्मुज जलडमरू बन्द गरेको घोषणा गर्दै त्यहाँबाट पार हुने जहाजमा आगो लगाउने धम्की दिएको छ। इरानी सेनाले त्यस क्षेत्रका केही जहाजमाथि आक्रमण समेत गरेको बताइएको छ।