२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

इरानद्वारा होर्मुज जलमार्ग बन्द, पार गर्ने जहाज जलाउने चेतावनी

इरानद्वारा होर्मुज जलमार्ग बन्द, पार गर्ने जहाज जलाउने चेतावनी

न्युयोर्क- इरानले महत्त्वपूर्ण समुद्री बाटो होर्मुज जलमार्ग बन्द गरेको छ। उक्त जलमार्ग पार गर्न खोज्ने जुनसुकै जहाजलाई आक्रमण गरेर नष्ट गर्ने इरानले चेतावनी दिएको छ।

इरानी विशेष सेनाका वरिष्ठ सल्लाहकार इब्राहिम जब्बारीले जलमार्ग पार गर्न खोज्नेलाई आगो लगाइदिने धम्की दिएका छन्। सञ्चारमाध्यमसँग बोल्दै उनले भने, “होर्मुज जलमार्ग बन्द छ। कसैले पार गर्ने प्रयास गरेमा हाम्रा सेनाले ती जहाज जलाएर भष्म पारिदिनेछन्।”

उनले विदेशी जहाजलाई त्यस क्षेत्रमा नआउन चेतावनी दिएका छन्। जबरजस्ती गरेमा कडा जवाफ दिने उनको भनाइ छ। अमेरिकालाई लक्षित गर्दै उनले तेलका पाइपमा प्रहार गर्ने र त्यस क्षेत्रबाट तेल निर्यात पूर्ण रुपमा रोक्ने बताए।

इरान र ओमानको बीचमा रहेको होर्मुज जलमार्ग विश्वकै मुख्य तेल ढुवानी मार्ग हो। यहाँबाट विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुन्छ। यो बाटो बन्द हुँदा विश्वभर कच्चा तेलको भाउ अझै बढ्ने र युद्धको जोखिम झन् थपिने सम्भावना छ।