युएईमा रहेका आफ्ना सैन्य शिविर जोगाउन फ्रान्सले खटायो लडाकु विमान
- २० फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- फ्रान्सले संयुक्त अरब इमिरेट्स (युएई) को आकाशमा आफ्ना सैन्य शिविरको सुरक्षा गर्न राफेल लडाकु विमान खटाएको छ। विदेशमन्त्री जीन–नोएल ब्यारोटले मंगलबार यसको जानकारी दिएका हुन्।
विदेशमन्त्री ब्यारोटले यी विमानले आफ्ना शिविर जोगाउन आवश्यक गस्ती र कारबाही गर्ने बताए। अबुधाबी नजिकै रहेको डाफ्रा शिविरमा फ्रान्सका जल, वायु र स्थल सेना ठूलो संख्यामा छन्। त्यहाँ पहिलेदेखि नै लडाकु विमान राखिएका थिए। मध्यपूर्वमा युद्ध चर्कँदै गएपछि फ्रान्सले आफ्ना सैन्य संरचना जोगाउन ती विमान परिचालन गरेको हो।
यसैबीच, फ्रान्सले इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको विरोध गर्दै आएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले यो आक्रमण अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताए। उनले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएकाले यसलाई स्वीकार गर्न नसकिने प्रस्ट पारे।