मानव हितमा कृत्रिम बुद्धिमत्ता प्रयोग गर्न संयुक्त राष्ट्रसङ्घको जोड
- २० फाल्गुन २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्तासम्बन्धी नयाँ अन्तर्राष्ट्रिय वैज्ञानिक समूहलाई स्पष्ट नीति र सुरक्षा मापदण्ड बनाउन आग्रह गरेका छन्।
समूहको पहिलो बैठकमा बोल्दै उनले कृत्रिम बुद्धिमत्ताको विकास तीव्र गतिमा भइरहेको बताए। यसले विश्वको अर्थतन्त्र, श्रम, शिक्षा, स्वास्थ्य र शासन प्रणालीमा गहिरो प्रभाव पारेको उनको भनाइ छ। यो तीव्र परिवर्तनलाई कुनै एक देश वा कम्पनीले मात्र बुझ्न नसक्ने भएकाले विश्वभरका देशले मिलेर काम गर्नुपर्ने उनले बताए।
कृत्रिम बुद्धिमत्ताले विकासमा अवसरसँगै चुनौती पनि ल्याएको गुटेरेसले प्रस्ट पारे। यसले काम छिटो हुने र नयाँ कुरा पत्ता लाग्ने भए पनि गलत सूचना फैलिने र मानिसको गोपनीयता भङ्ग हुने जोखिम रहेको उनले चेतावनी दिए। त्यसैले यसको प्रयोग सुरक्षित, पारदर्शी र मानिसको हितमा हुनुपर्नेमा उनले जोड दिए।
संयुक्त राष्ट्रसङ्घको महासभाले ४० जना सदस्य रहेको यो समूह बनाएको हो। यसका सदस्यले तीन वर्षसम्म काम गर्नेछन्। यो समूहले कुनै सरकार वा संस्थाको दबाबमा नपरी स्वतन्त्र रूपमा काम गरेर कृत्रिम बुद्धिमत्ताको विकास र जोखिम व्यवस्थापनबारे सुझाव दिनेछ। प्रविधिलाई मानव हितमा लगाउन सबै देशलाई गुटेरेसले आग्रह गरे।